Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३

विराटनगर । विराटनगरको मुख्य राजमार्गमा जथाभावी सडक पार गर्ने प्रवृत्ति रोक्न ट्राफिक प्रहरीले फलामका ट्राइपोड प्रयोग गरेर अनधिकृत सडक क्रसिङ बन्द गर्न थालेको छ। प्लास्टिकका घेरा (कोन) तोडेर सवारी चालक तथा पैदलयात्रीले जथाभावी बाटो काट्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलेले फलामका ट्राइपोड राखेर डोरी तानी क्रसिङ बन्द गर्ने उपाय अपनाएको हो।

यसअघि सडक क्रसिङ रोक्न राखिएका प्लास्टिकका घेरा पटक–पटक तोडिने र हटाइने गरेपछि ट्राफिक प्रहरीले आज (शुक्रवार) पनि फलामका ट्राइपोड प्रयोग गरी सडकमा घेरा लगाएको छ। तर, प्रहरीको प्रयासका बाबजुद पनि अनधिकृत रूपमा बाटो काट्ने क्रम रोकिएको छैन।

विराटनगरको बरगाछी क्षेत्रमा केही स्थानमा सीसी क्यामेराबाट निगरानीको व्यवस्था भए पनि राजमार्गका सबै क्षेत्रमा त्यस्तो सुविधा छैन। सडक किनार तथा विभिन्न स्थानमा राखिएका घेरा तोडेर सवारी चालकले बाटो काट्ने गरेकाले निगरानी र नियन्त्रणमा समेत समस्या भइरहेको प्रहरीको भनाइ छ।

जति पटक घेरा लगाए पनि त्यति नै पटक तोडिने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपाने बताउँछन्। उनका अनुसार सडकमा राखिएका संरचना जोगाउनु र ट्राफिक नियम पालना गर्नु नागरिकको पनि उत्तिकै जिम्मेवारी हो।

नागरिकले नियम पालना नगर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक प्रहरी आफैँले नागरिकको जीवन रक्षाका लागि सचेत भएर काम गर्नुपर्ने अवस्था रहेको न्यौपानेको भनाइ छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने प्रवृत्तिका कारण प्रहरीले पटक–पटक घेरा लगाउने र पुनः तोडिएपछि फेरि व्यवस्थापन गर्ने काममा समय र जनशक्ति खर्चिनुपरेको छ। सडक क्रसिङ बन्द गर्न राखिएका संरचना नै असुरक्षित हुने अवस्था आएपछि ट्राफिक प्रहरीलाई थप चुनौती थपिएको छ।

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं