विराटनगर । सुनसरीमा भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लत्ताकपडा र मोटरसाइकल प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका–७ स्थित तिनमुहानबाट प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरिएको लत्ताकपडा र मोटरसाइकल बरामद गरेको हो।
कात्तिक १३ गते राति १२ः४५ बजे इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३२ प ५१३९ नम्बरको मोटरसाइकलमा लत्ताकपडा ल्याउँदै गरेको फेला पारेको थियो।

प्रहरी टोलीलाई देखेपछि मोटरसाइकल चालकले मोटरसाइकल र लत्ताकपडा छाडेर फरार भएका थिए। प्रहरीले अन्दाजी ५ लाख ६० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय देवानगञ्जमा राखेको जनाएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

