धनकुटा । कुनै समय खेतीपातीका लागि उपयोग गर्न नसकिने भन्दै बाँझै छाडिएका चट्टानी भूभाग अहिले धनकुटाका किसानका लागि आम्दानीको नयाँ आधार बनेका छन् । अन्नबाली उत्पादन गर्न कठिन यस्ता क्षेत्रमा मौरीका घार राखेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
वनजङ्गल, खोलानाला र प्राकृतिक वातावरणको सदुपयोग गर्दै मह उत्पादन गर्न सकिने भएपछि जिल्लामा मौरीपालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । थोरै जनशक्ति र तुलनात्मक रूपमा कम दैनिक श्रमबाट सञ्चालन गर्न सकिने मौरीपालन खेतीयोग्य जमिन नभएका किसानका लागि वैकल्पिक पेसासँगै आत्मनिर्भर बन्ने माध्यमसमेत बन्दै गएको छ ।

धनकुटा नगरपालिका–१ का दुर्गा दर्लामी यसको उदाहरण हुन् । उनले २०७५ सालदेखि सुरु गरेको मौरीपालन अहिले परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ । पाख्रिबास नगरपालिका–९, मजुवास्थित जङ्गलको बीचमा करिब १०० घार मौरीपालन गर्दै आएका दर्लामीले वार्षिक करिब छ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

प्रयोगविहीन जमिनलाई सदुपयोग गरेर नियमित आम्दानी गर्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन् । परम्परागत खेतीपातीबाट पर्याप्त आम्दानी लिन कठिन हुने ठाउँमा मौरीपालनले नयाँ सम्भावना देखाएको उनको अनुभव छ ।
वैदेशिक रोजगारीबाट फर्किएका शुक्र राईको अनुभव पनि उस्तै छ । विदेशबाट फर्किएपछि मौरीपालनमा सम्भावना देखेका उनले सामान्य रूपमा सुरु गरेको व्यवसायलाई अहिले व्यावसायिक रूप दिएका छन् । हाल उनीसँग २०० भन्दा बढी आधुनिक मौरीघार छन् ।
मौरीपालनसँगै उनले आधुनिक मौरीघार उत्पादन गर्ने उद्योगसमेत सञ्चालन गरिरहेका छन् । वार्षिक ५०० देखि ७०० वटासम्म मौरीघार निर्माण गरी मौरीसहित र खाली घार बिक्री गर्दै आएका राईले मह, मौरी र घार बिक्रीबाट वार्षिक २० देखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताएका छन् ।
प्राकृतिक वातावरणले दिएको अवसर
धनकुटाको भौगोलिक बनावट र हावापानी मौरीपालनका लागि अनुकूल मानिन्छ । विशेषगरी जिल्लाको तल्लो भेगका गर्मी हुने क्षेत्र, वनजङ्गल तथा खोलानजिकका स्थान मौरीपालनका लागि उपयुक्त देखिएका छन् ।
वनजङ्गलमा पाइने विभिन्न वनस्पति र फूलबाट मौरीले आहारा सङ्कलन गर्न पाउने भएकाले यस्ता क्षेत्रमा मौरीपालनको सम्भावना बढी छ । खेतीयोग्य जमिनको अभाव वा चट्टानी भूभागका कारण कृषि उत्पादन गर्न नसकिने स्थानलाई समेत मौरीपालनका लागि उपयोग गर्न सकिन्छ ।
यही प्राकृतिक अनुकूलताका कारण पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा किसानले मौरीका घार विस्तार गर्न थालेका छन् । कम जमिनमा सञ्चालन गर्न सकिने र अन्य कृषि गतिविधिसँगै व्यवस्थापन गर्न मिल्ने भएकाले यस व्यवसायप्रति किसानको आकर्षण बढिरहेको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा परम्परागत तथा आधुनिक गरी ११ हजार ९३२ घारमा सेरेना जातका मौरीपालन भइरहेको छ । जिल्लामा वार्षिक करिब २९ दशमलव ६ मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।
मह बिक्रीबाट मात्रै किसानले वार्षिक करिब चार करोड रुपैयाँ आम्दानी गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानामगरले बताए । उनका अनुसार उक्त तथ्याङ्कले धनकुटामा मौरीपालन व्यक्तिगत आम्दानीको स्रोतमा मात्र सीमित नरही जिल्लाको कृषि अर्थतन्त्रमा समेत योगदान पुर्याउने व्यवसायका रूपमा विकास भइरहेको देखाउँछ ।
महको बजार विस्तार, किसानमा उत्साह
धनकुटामा उत्पादित महको बजारसमेत विस्तार हुँदै गएको छ । स्थानीय बजारदेखि तराईका विभिन्न सहर तथा काठमाडौँ उपत्यकासम्म यहाँको मह पुग्ने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार धनकुटामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारसम्मसमेत पुग्ने गरेको छ ।
विषादीरहित उत्पादनका रूपमा पहिचान बनाउन सकेको धनकुटाको महप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । बजारको माग र बिक्रीको सम्भावनाले किसानलाई उत्पादन विस्तार गर्न थप उत्साहित बनाएको छ ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार जिल्लाका महालक्ष्मी नगरपालिका, पाख्रिबास नगरपालिका र सहिदभूमि गाउँपालिकामा तुलनात्मक रूपमा बढी मह उत्पादन हुने गरेको छ ।
विषादी प्रयोग मुख्य चुनौती
मौरीपालनको सम्भावना बढ्दै गए पनि व्यवसाय चुनौतीमुक्त भने छैन । विशेषगरी जिल्लाको माथिल्लो क्षेत्रमा हुने तरकारीखेतीमा प्रयोग गरिने विषादीले मौरीपालनमा समस्या सिर्जना गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रानामगर बताउँछन् ।
विषादीको अनुचित प्रयोगले मौरीको स्वास्थ्य र मह उत्पादनमा प्रत्यक्ष असर पार्न सक्ने भएकाले यो व्यवसायका लागि गम्भीर चुनौती बनेको छ । कृषि उत्पादन र मौरीपालनलाई सँगसँगै अघि बढाउन विषादीको सुरक्षित प्रयोग, किसानबीच समन्वय र जनचेतना आवश्यक रहेको मौरीपालक किसानको भनाइ छ ।
त्यस्तै, मौरीपालनलाई दिगो र व्यावसायिक बनाउन आधुनिक प्रविधि, गुणस्तरीय घार, मौरीको स्वास्थ्य व्यवस्थापन, उत्पादनको गुणस्तर र बजार व्यवस्थापनमा समेत ध्यान दिनुपर्ने किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्रले युवालाई लक्षित गर्दै मौरीपालन कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । यसबाट कृषि क्षेत्रमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय किसानको आयस्तर र जीवनस्तर सुधारमा सहयोग पुग्ने केन्द्र प्रमुख रानामगरको विश्वास छ ।
खेती गर्न नसकिने चट्टानी जमिनलाई समेत आम्दानीको स्रोतमा रूपान्तरण गर्न सकिने उदाहरण बनेको धनकुटाको मौरीपालनले स्थानीय स्रोतसाधनको सदुपयोगमार्फत ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन सकिने सम्भावना देखाएको छ ।