वीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उद्घाटन गर्ने विषयलाई लिएर दुई समूहबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक युवक घाइते भएका छन्। शनिबार बिहान गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीसहितको टोलीले फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकी उद्घाटन गर्न खोज्दा विपक्षी समूहले अवरोध गरेपछि विवाद सुरु भएको थियो।
विवादले उग्र रूप लिएपछि दुई समूहबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेपछि भीडबाट प्रहरीमाथि ढुंगामुढा भएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले जानकारी दिए।

उनका अनुसार स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले हवाई फायर गरेको हो। यद्यपि, घटनामा एक युवक गोली लागेर घाइते भएका छन्। घाइते युवकको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको पहिचान तथा कसको गोली लागेर घाइते भएको भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
