काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकडलगायत सरकारका विवादित गतिविधिको छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले पत्रकार पक्राउ तथा सरकारका अन्य विवादित गतिविधिबारे स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न विशेष समिति गठन गर्नुपर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पत्रकार धरपकडलगायत घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकडलगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्दछ । दोषीलाई कानुनी कारबाही गर्नुपर्दछ । यसका लागि संसदीय विशेष समिति गठन गर्नुपर्दछ ।’

कांग्रेस संसदीय दलले पछिल्ला सरकारी गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको निष्कर्ष निकालेको छ । आङ्देम्बेले पत्रकार पक्राउको स्पष्ट कानुनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको टिप्पणी गरे ।

उनका अनुसार जनसरोकारका विषय र सुशासनका सन्दर्भमा सरकारले गर्ने सकारात्मक काममा कांग्रेसको समर्थन रहनेछ । तर लोकतन्त्र, विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणजस्ता मूल्यमान्यताविपरीत सरकार अघि बढेमा कांग्रेसले विरोध गर्नेछ ।
उनले न्यायपालिकाको स्वतन्त्रता अक्षुण्ण राख्नुपर्नेमा पनि जोड दिए । सरकारका गतिविधिले जवाफदेहिताबाट पन्छिने र आफूखुसी निर्णय गर्ने प्रवृत्ति देखिएको उनको भनाइ थियो । कांग्रेस संसदीय दलले सरकारका पछिल्ला गतिविधिलाई मुलुकको संवैधानिक संरचना कमजोर बनाउँदै आफूअनुकूल शासन व्यवस्था स्थापित गर्ने सुनियोजित प्रयासको शृङ्खलाका रूपमा व्याख्या गरेको छ ।