विराटनगर । सशस्त्र प्रहरी बल, नेपालको इन्टेलिजेन्स ब्यूरोले उदयपुरबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएको कारबाहीमा प्रहरीले ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरो, नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्ने क्रममा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

बरामद गरिएको गाँजा र ट्रकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
