६ थान स्मार्टफोन र सुर्तीजन्य वस्तु बरामद
विराटनगर । विराटनगर–३ स्थित बाल सुधार गृहमा प्रहरीले छापा मारेर ६ थान स्मार्टफोनसहित सुर्तीजन्य वस्तु बरामद गरेको छ। सुधार गृहभित्र मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध रहे पनि बालबिज्याइँमा संलग्न व्यक्तिहरूले लुकिछिपी मोबाइल प्रयोग गर्दै आएको पाइएको हो।
मोरङ प्रहरीको टोलीले सोमबार बिहान सुधार गृहमा नियमित चेकजाँच गर्ने क्रममा मोबाइल फोन तथा सुर्तीजन्य वस्तु बरामद गरेको बाल सुधार गृहका वार्डेन रिकेश निरौलाले जानकारी दिए।

निरौलाका अनुसार नियमित चेकजाँचका क्रममा ६ थान स्मार्टफोन, खैनी र भोला बरामद भएका हुन्। सुधार गृहभित्र मोबाइल फोन प्रयोग गर्न निषेध गरिएको भए पनि सुरक्षाकर्मीको आँखा छलेर ती सामग्री भित्र पुर्याइएको पाइएको उनले बताए।

‘नियमित चेकजाँचका क्रममा मोबाइल फेला परेका हुन्। बालबिज्याइँकर्ताहरू बाहिर जान पाउँदैनन्। भेटघाटका लागि आउने आफन्त वा साथीभाइमार्फत सुरक्षाकर्मीको आँखा छलेर मोबाइल भित्र पुर्याइएको हुन सक्ने अनुमान छ,’ निरौलाले भने।
बाल सुधार गृहको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक (सई) को कमान्डमा ११ जना प्रहरी खटिएका छन्। सुरक्षाकर्मीको नियमित निगरानी र सुरक्षा व्यवस्था हुँदाहुँदै पनि मोबाइल फोन तथा अन्य प्रतिबन्धित वस्तु लुकाएर भित्र पुर्याउने गरिएको आशंका गरिएको छ।
यसैबीच, बाल सुधार गृहमा क्षमताभन्दा निकै बढी बालबिज्याइँमा संलग्न व्यक्तिहरू राखिएका छन्। ५० जनाको क्षमता रहेको ए ब्लकमा १८ वर्षमुनिका बालबिज्याइँकर्तालाई राखिएको छ भने बी ब्लकमा १८ वर्ष उमेर नाघेका तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई राखिएको छ।
दुवै ब्लकमा गरी हाल २५३ जना रहेका छन्। निर्धारित क्षमताभन्दा पाँच गुणाभन्दा बढी व्यक्तिलाई राख्नुपर्दा सुधार गृहको व्यवस्थापन र सुरक्षा चुनौती थपिएको छ। बाल सुधार गृह संघीय सरकारको मातहतमा रहेकाले यसको व्यवस्थापनको मुख्य जिम्मेवारी संघीय सरकारको छ। यद्यपि, स्थानीय तहले पनि सुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई लक्षित गरी विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।