काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा बुझाएको छ। सोमबार महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको तस्बिरसहितको विवरण आयोगमा पेस गरेको हो।
कांग्रेसका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम केन्द्रीय कार्यसमितिको विवरण पेस गरिएको हो। उक्त ऐनअनुसार राजनीतिक दलले आफ्नो पदाधिकारी वा केन्द्रीय समितिमा हेरफेर गरेमा त्यसको जानकारी निर्वाचन आयोगलाई गराउनुपर्ने व्यवस्था छ।

आयोगले दल दर्ता किताबमा राजनीतिक दलका पदाधिकारी तथा केन्द्रीय कार्यसमितिमा भएका परिवर्तनसम्बन्धी विवरण अद्यावधिक गर्ने व्यवस्था छ। महामन्त्री प्रदीप पौडेलका अनुसार १५औं महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएकाले त्यसलाई अद्यावधिक गराउन आयोगमा विवरण पेस गरिएको हो।
