काठमाडौं। साताको कारोबारको मंगलबार सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ६.६२ अंकले वृद्धि हुँदै २६६४. १३ विन्दुमा पुगेको हो। मंगलबार बजारमा अधिकांश उपसमूहले सकारात्मक योगदान दिएका छन्। फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहमा भने गिरावट आएको छ।
आज कुल १४३ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १२२ कम्पनीको मूल्य घटेको छ। शिखर पावर डेभलपमेन्टको सेयर मूल्य सर्वाधिक ५.९४ प्रतिशतले बढेको छ। त्यस्तै, बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सर्वाधिक ५.०४ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढे पनि बजारको कारोबार रकममा भने गिरावट देखिएको छ। सोमबार ७ अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार घटेर ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा रहेको छ। बैंकको २३ करोड १४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै, बुटवल पावर कम्पनीको १९ करोड ४४ लाख रुपैयाँ र कुमारी बैंकको १९ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।