काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गरिएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्। बुधबार सरकारले आफूलाई आईजीपी पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि कार्की उक्त निर्णय बदरको माग गर्दै रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।
कार्कीका निकट अधिवक्ता टीकाबहादुर कुँवरले आईजीपी नियुक्तिसम्बन्धी सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको जानकारी दिए। मन्त्रिपरिषद्को निर्णयअनुसार डा. मनोजकुमार केसीले बुधबारदेखि नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। कार्कीले दायर गर्न लागेको रिट निवेदन हाल सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा रहेको छ।

