Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको हो।

छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीक भएको उल्लेख गर्दै मन्त्रालयले यसले आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकता सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। साथै, कुनै पनि जातजाति, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि नगर्न आग्रह गरेको छ।

मन्त्रालयले नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको स्मरण गराएको छ। त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय आधारमा छुवाछुत तथा भेदभाव गर्नु दण्डनीय कसुर रहेको जनाएको छ।

सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य संविधानको मर्म, समानताको सिद्धान्त तथा प्रचलित कानुनविपरीत हुने मन्त्रालयको भनाइ छ। यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ।

सबै जातजाति, वर्ग, क्षेत्र तथा समुदायको समान अधिकार, आत्मसम्मान र समावेशी सहभागितासहितको समतामूलक समाज निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले सामाजिक सद्भाव, भाइचारा र समावेशी संस्कृतिको प्रवर्द्धन गर्नसमेत सबैमा आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं