Lite Nepal

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे तीनवटा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएका छन्।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री शाहले चाडपर्वका समयमा अपनाइएको सुरक्षा व्यवस्था, नागरिकको जीउधनको संरक्षण तथा समग्र सुरक्षा व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन्।

छलफलमा प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोज कुमार के.सी. र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी रहेको उपलब्ध विवरणमा उल्लेख छ।

प्रधानमन्त्री शाहले मुलुकको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय सुदृढ गर्न निर्देशन दिएका छन्। सुरक्षा चुनौतीको सामना गर्न निकायहरूबीच नियमित सूचना आदानप्रदान र आपसी सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका हुन्।

नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन प्रधानमन्त्रीले सुरक्षा प्रमुखहरूको ध्यानाकर्षण गराएका छन्। विशेष गरी चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाउन उनले निर्देशन दिएका छन्।

प्रधानमन्त्री शाहले अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउँदै शान्ति–सुरक्षा व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। त्यसका लागि सम्बन्धित सुरक्षा निकायहरूले आआफ्नो जिम्मेवारी निर्वाह गर्दा आपसी समन्वयलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ छ।

चाडपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले यसअघि नै विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो। नागरिकको सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण तथा सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरी परिचालन र निगरानीलाई प्राथमिकता दिइएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं