Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

काठमाडौं । अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका नरेश भट्टले किशोरावस्थामा नेपालमा माओवादी विद्रोहीबाट अपहरणमा परेको र शारीरिक, यौन तथा मानसिक दुर्व्यवहार भोगेको बयान दिएका छन्। अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा आफ्नै प्रतिरक्षामा बयान दिने क्रममा उनले यस्तो बताएका हुन्।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजको ‘४८ आवर्स’ कार्यक्रमले सार्वजनिक गरेको अदालती बयानको अंशअनुसार प्रतिरक्षा पक्षका वकिलले नेपालमा चलेको सशस्त्र द्वन्द्वका क्रममा आफूले हिंसा भोगेको हो कि होइन भनेर सोधेका थिए। जवाफमा नरेशले आफूले हिंसा भोगेको स्वीकार गरेका थिए।

त्यसक्रममा उनले आफूलाई शारीरिक, यौन तथा मानसिक रूपमा गम्भीर दुर्व्यवहार गरिएको बताएका थिए। उक्त अवस्था दुईदेखि तीन साताभन्दा बढी चलेको र आफू त्यतिबेला १३–१४ वर्षको रहेको उनको भनाइ थियो। ती घटनाको सम्झना अहिले पनि पीडादायी हुने र त्यसबारे कुरा गर्दा नराम्रो महसुस हुने उनले अदालतमा बताएका थिए।

नरेशले बाल्यकालमा नेपालमा माओवादी विद्रोहीबाट अपहरणमा परेको र दुर्व्यवहार भोगेको बयान दिएको उल्लेख छ। उनका अनुसार ती अनुभवले आफ्नो मानसिक स्वास्थ्यमा लामो समयसम्म प्रभाव पारेका छन्।

पीटीएसडी रहेको मनोवैज्ञानिकको निष्कर्ष
नरेशको प्रतिरक्षा पक्षले उनको मानसिक अवस्थाबारे अदालतमा मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डलाई विशेषज्ञ साक्षीका रूपमा प्रस्तुत गरेको थियो। फोर्डह्याम विश्वविद्यालयका प्राध्यापकसमेत रहेका रोजेनफेल्डले नरेशको मूल्याङ्कनपछि उनमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण रहेको बताएका छन्।

रोजेनफेल्डले नरेशमा पीटीएसडी रहेको निष्कर्षका लागि आफूहरूसँग बलियो आधार रहेको र परीक्षणका क्रममा उनले लक्षण बढाइचढाइ गरेको संकेत नपाएको बताएका थिए।

नरेशले पत्नी ममताको शव फेला पारेपछि आफू अत्यधिक आत्तिएको, शरीर अनियन्त्रित रूपमा काँपेको र के गरिरहेको छु भन्ने सोच्न नसकेको दाबी गरेका थिए। मनोवैज्ञानिक रोजेनफेल्डले यस्तो अवस्थामा व्यक्तिले स्पष्ट रूपमा सोच्न नसक्नु पीटीएसडीसँग मेल खान सक्ने बताए। तर शव टुक्र्याउने कार्यलाई भने पीटीएसडीले स्वतः व्याख्या नगर्ने र त्यसबेला नरेशले वास्तवमा के सोचिरहेका थिए भन्ने कुरा आफूले निश्चित गर्न नसक्ने उनले स्पष्ट पारे।

पत्नीको मृत्यु आत्महत्याबाट भएको नरेशको दाबी
अदालतमा नरेशले सन् २०२४ जुलाई ३० को बिहान पत्नी ममतालाई घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला पारेको बताएका थिए। उनका अनुसार ममताको शरीरनजिक बान्ता, औषधि र विषादी रहेको देखेपछि आफूले उनलाई बचाउने प्रयास गरेका थिए। तर सफल नभएपछि आफू आत्तिएको र त्यसपछि शव लुकाउने निर्णय गरेको उनको दाबी छ।

नरेशले ममताको मृत्यु आत्महत्याका कारण भएको दाबी गर्दै आफूले हत्या नगरेको जिकिर गरेका छन्। यद्यपि, उनले शवलाई आराले काटेर टुक्र्याएको र फोहोर फाल्ने ठाउँमा लगेर व्यवस्थापन गरेको कुरा अदालतमा स्वीकार गरेका छन्। ममता बेपत्ता भएपछि भने उनले प्रहरी र सञ्चारमाध्यमलाई आफूलाई उनको अवस्थाबारे जानकारी नभएको बताएका थिए।

अभियोजन पक्षले उठाएका प्रश्न
अभियोजन पक्षले नरेशको बयानमाथि प्रश्न उठाउँदै उनले ममता बेपत्ता भएको समयमा दिएका अभिव्यक्ति र अहिले अदालतमा प्रस्तुत गरेको विवरणबीच विरोधाभास रहेको बताएको छ। अभियोजन पक्षका अनुसार ममताको हत्या भएको र त्यसपछि शव लुकाइएको हो।

यसअघि अदालतमा प्रस्तुत गरिएको फरेन्सिक प्रमाणमा दम्पतीको सुत्ने कोठाको कार्पेटमा भेटिएको रगत ममताकै भएको सम्भावना अत्यधिक रहेको विज्ञले बताएका थिए। ममताका दाजु महेश काफ्लेले पनि बहिनीले बेपत्ता हुनुअघि आफूलाई अनुहारमा चोट लागेको तस्बिर पठाएको बयान दिएका थिए।

नरेशमाथि पहिलो तहको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग छ। उनले हत्या अभियोग अस्वीकार गरेका छन्। ममताको शव अहिलेसम्म फेला परेको छैन।

पीटीएसडीको निदान हुँदैमा हत्या अभियोगबाट स्वतः उन्मुक्ति मिल्दैन। अदालतमा प्रस्तुत गरिएको मानसिक स्वास्थ्यसम्बन्धी प्रमाणलाई जूरीले अन्य प्रमाण र घटनाक्रमसँगै मूल्याङ्कन गर्नेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं