Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल संवत् ११४७ का अवसरमा मंगलबार (कात्तिक २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उहनले प्रदेश सरकारले ०८० सालमै नेपालभाषा र तामाङलाई सरकारी कामकाजको भाषा बनाउने ऐन पारित गरी कार्यान्वयनमा ल्याएको स्मरण गरे ।

ऐन कार्यान्वयनमा आए पनि व्यवहारमा भाषाको प्रयोग प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे । उनले अब सबै मन्त्रालयका बोर्ड र लेटरहेडमा नेपाली, नेपाल र तामाङ भाषा प्रयोग गरिने जानकारी दिए ।

“मैले मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशका सबै मन्त्रालयका नामपट्टमा नेपाली, नेपाल र तामाङ गरी तीनवटै भाषाको प्रयोग सुरु गरेका छौँ,” उनले भने, “अब मन्त्रालयका लेटरहेडमा पनि तीनवटै भाषाको प्रयोग गरिनेछ ।”

मुख्यमन्त्री थापामगरले नेपालभाषा र तामाङका विज्ञ सम्मिलित समूह गठन गरी सरकारी कार्यालयको कामकाजमा यी भाषाको प्रयोग विस्तार गर्ने तयारी भइरहेको पनि बताए । विज्ञको सुझावका आधारमा प्रदेशका सबै १३ जिल्लामा भाषाको प्रयोगलाई विस्तार गरिने उनको भनाइ छ ।

“नेपालभाषा र तामाङ भाषाका विज्ञहरूको सहयोगमा प्रदेशका १३ वटै जिल्लाका सरकारी कार्यालयमा यी भाषाको प्रयोग विस्तार गर्न आवश्यक कार्य अघि बढाइनेछ,” उनले भने ।

उनले नेपालभाषा, नेवार समुदायको संस्कृति, संस्कार, रीतिरिवाज, कला, बाजागाजाको संरक्षण र सम्वर्द्धनका निम्ति प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रदेशका प्रत्येक जिल्लामा राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिष्ठान स्थापना गर्नुपर्ने आवश्यकता उनले औँल्याए । उनले चालु आर्थिक वर्षमा दोलखामा प्रतिष्ठान स्थापनाका निम्ति बजेट विनियोजन गरिएको जानकारी दिए । अरू जिल्लाबाट माग आएमा त्यहाँ पनि प्रतिष्ठान स्थापनाका निम्ति बजेट उपलब्ध गराइने उनले बताए ।

नेपालभाषाको संरक्षण र विकास काठमाडौं उपत्यकामा मात्र सीमित नराखी सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेलगायत वाग्मती प्रदेशका सबै जिल्लामा विस्तार गरिनुपर्नेमा उनले जोड दिए ।

भाषा र संस्कृतिको संरक्षणका निम्ति प्रदेश सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे । नेपालभाषाको विकासलाई प्रदेश सरकारको प्राथमिकतामा राखिने उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं