सुजता लिम्बू

शनिबार, कार्तिक २८, २०८३
मूर्तिलाई पूर्ण स्वरूप दिन तयारी गर्दै बाबुराम

विराटनगर । मध्याह्नको समय । विराटनगर–१३ स्थित सैनिक टोलको विजय मूर्ति कला केन्द्रमा कलाकारहरूलाई भ्याइनभ्याइ थियो । कोही माटोलाई आकार दिँदै थिए त कोही मूर्तिमा अन्तिम रूप दिन व्यस्त थिए ।
कसैका हातमा माटो थियो, कसैका हातमा औजार । सबैको ध्यान आफूले बनाइरहेको मूर्तिमा केन्द्रित थियो । छठ पर्वका लागि मूर्ति तयार पार्नुपर्ने चटारोले उनीहरूलाई खाना खाने फुर्सदसमेत दिएको थिएन । खाना खानका लागि पनि उनीहरू पालैपालो जाने तयारीमा थिए । तर, माटोलाई जीवन्त आकार दिने काम भने रोकिएको थिएन ।

त्यही व्यस्तताबीच ३१ वर्षीय बाबुराम महतो पनि मूर्ति निर्माणमा व्यस्त थिए । उनका हातले माटोलाई सूर्यदेव, छठी माता र अन्य देवीदेवताका आकृतिमा ढालिरहेका थिए । भोलिपल्ट मनाइने छठ पर्वका लागि तयार पारिएका मूर्तिमा अन्तिम रूप दिन उनीहरू जुटिरहेका थिए । मूर्ति हेर्दा लाग्थ्यो, माटोका आकृतिले मानौँ बोल्न मात्रै बाँकी छ ।

बाबुरामका लागि यो दृश्य नौलो होइन । बाल्यकालदेखि नै उनले माटोसँग खेल्दै र मूर्ति बनाउँदै बिताएका छन् । कक्षा ३ मा पढ्दादेखि बुवाले मूर्ति बनाएको देखेका उनले त्यही काम हेर्दै सीप सिके । बुवाको कामप्रतिको लगाव र मूर्ति बनाउने कलाले उनमा पनि यसप्रति रुचि जगायो । बिस्तारै रहर पेसामा बदलियो ।

“मलाई पनि मूर्ति बनाउने इच्छा थियो । सानैदेखि बुवाले काम गरेको देखेर सिकेँ । आफ्नै इच्छा भएपछि बुवाको पेसामा लागेको हुँ ।” उनी भन्छन् । बुवाबाट सिकेको सीपलाई निरन्तरता दिँदै आएका बाबुरामका लागि मूर्तिकला अहिले आम्दानीको माध्यम मात्र होइन, आफ्नो पहिचान पनि बनेको छ । यो पेसामा मौसमी व्यस्तता हुने भए पनि वर्षभरि कुनै न कुनै पर्व र पूजाका लागि मूर्तिको माग आइरहन्छ । मन्दिरका मूर्तिदेखि सरस्वती पूजा, छठ, लक्ष्मी पूजा र दुर्गा पूजासम्मका लागि उनी मूर्ति बनाउँछन् । बुद्धका मूर्तिसमेत केराबारीसम्म पुग्ने गरेका छन् ।

अहिले छठ पर्वको तयारीले उनको कार्यशालामा विशेष चहलपहल छ । छठ पूजाका लागि सात घोडाको रथमा सवार सूर्यदेव, छठी माता, शिव–पार्वती र कोनियासहितका मूर्ति तयार पारिएका छन् । ग्राहकको अर्डरअनुसार दसैँपछि निर्माण सुरु गरिएको काम २६ दिन लगाएर पूरा गरिएको बाबुराम बताउँछन् । यस अवधिमा उनीहरूको समूहले सात सेट मूर्ति तयार पारेको छ । जुन रंग लगाउनमा उनीहरू व्यस्त छन् । “भोली ११ बजेसम्म सबै बुझाइसक्नुपर्छ र सकिन्छ ।” उनी भन्छन् ।

उनीहरूले तयार पारेका मूर्तिहरू विराटनगरको पुष्पलाल चोक, केशलिया रोड, दरैयालगायतका स्थानमा पुग्ने उनी बताउँछन् । उनको भनाइमा सीमावर्ती भारतीय बजार जोगबनीबाट समेत मूर्तिको अर्डर आउने गरेको छ । स्थानीय क्षेत्रका ग्राहकको माग पनि उत्तिकै रहने गरेको उनी बताउँछन् ।

मूर्तिको आकार र बनावटअनुसार मूल्य फरक पर्छ । एउटा मूर्तिको मूल्य १५ हजारदेखि २० हजार रुपैयाँसम्म पर्ने गरेको छ भने विशेष सेट तथा ठुला मूर्तिको मूल्य ६१ हजार रुपैयाँसम्म पुग्ने गरेको बाबुराम बताउँछन् ।

परम्परागत रूपमा माटोबाट मूर्ति बनाउँदै आएका बाबुराम अब आफ्नो पेसालाई समयअनुसार परिमार्जन गर्न चाहन्छन् । पुर्खाले सिकाएको सीपलाई आधुनिक प्रविधिसँग जोडेर फाइबर, सिमेन्ट र लिक्विडलगायतका सामग्री प्रयोग गरी मूर्ति निर्माण गर्ने उनको सोच छ ।

“बुवाको पेसालाई अब अपडेट गर्नुपर्छ भन्ने लागेको छ । फाइबर, सिमेन्ट र लिक्विडबाट पनि मूर्ति बनाउने सोच छ र बनाउँदै पनि आइरहेको छु ।” उनी भन्छन्। मूर्ति निर्माणका लागि उनीसँगै सातदेखि आठ जनाको समूह खटिने गरेको छ । यो समूह मूर्तिकलामा मात्र सीमित छैन । चलचित्रमा समेत आर्ट डाइरेक्टरका रूपमा काम गर्दै आएको छ । उनीहरूको समूहले चलचित्र बलिदानका लागि ४२ फिट अग्लो कालीको मूर्तिसमेत निर्माण गरेको बाबुराम बताउँछन् ।

मूर्तिकला सजिलो पेसा भने होइन । माटोलाई आवश्यक आकार दिनदेखि मूर्तिमा सूक्ष्म विवरण भर्नेसम्म धैर्य, सीप र मिहिनेत चाहिन्छ । पर्वको समयमा अर्डर बढी हुने भएकाले समयमै काम सक्नुपर्ने दबाब पनि उत्तिकै हुने गरेको उनी सुनाउँछन् । अहिले छठका मूर्ति बुझाउनुपर्ने भएकाले बाबुराम र उनको समूहलाई खानासमेत पालो मिलाएर खानुपर्ने अवस्था छ ।

विदेश जाने सोच नराखेका बाबुरामले आफ्नै सीप र पेसामा भविष्य खोजिरहेका छन् । उनकी श्रीमती नर्स पेसामा आबद्ध छिन् भने उनी मूर्तिकलामै रमाइरहेका छन् । रुचि र लगाव भए आफ्नै देशमा बसेर पनि यो पेसाबाट सन्तुष्टि लिन सकिने उनको अनुभव छ ।

“रुचि भयो भने यो पेसामा सन्तुष्टि मिल्छ,” उनी भन्छन् । त्यसो त उनका लागि माटो केवल मूर्ति बनाउने सामग्री होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप र सिर्जनाको आधार हो । बुवाले समातेको बाटोलाई उनले आफ्नो रुचि र मेहनतले अघि बढाइरहेका छन् । अब त्यसमा आधुनिक प्रविधि जोडेर मूर्तिकलालाई नयाँ उचाइ दिने उनको चाहना रहेको उनी बताउँछन् ।

छठ पर्वका लागि सूर्यदेवको मूर्ति तयार पार्दै कलाकारहरू

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं