Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ । अन्तर्राष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम)मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भई यस वर्ष ३.६६ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

फिचको मूल्यांकन प्रणालीमा ‘बीबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ ।

गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बीबी–’ रेटिङ प्रदान गरिएको थियो ।

तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा ‘बीबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थिर अर्थात् ‘डबल बी माइनस’मा कायम राखेको छ ।

हालै रसुवाको बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत नेपालको क्रेडिट रेटिङ अंकमा वृद्धि हुनु महत्त्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ ।

सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको विज्ञप्तिमा उल्लेख छ ।

सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्यांकन गर्दछ ।

यसले अन्तर्राष्ट्रिय वित्तीय बजारमा देशको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्त्वपूर्ण आधार प्रदान गर्दछ । रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं