काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले जुनसुकै बेला आन्दोलनमा जानुपर्ने अवस्था आउने बताए ।

“आन्दोलनको मानसिकताका साथ साथीहरू सबै हरदम तयार रहनू । आन्दोलन सधैँ लामो तयारी गरेर हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ,” उनले भने ।

उनले कहीँ विद्रोह, कतै चुनाव त कहीँ उपद्रवबाट उलटफेर हुने बताए । “कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ । त्यसकारण साथीहरू तयार रहनुहोला,” उनले भने ।
उनले आफूहरू सधैँ अफ्ठ्यारोसँगै जुध्दै आएको बताए । सबै शक्ति मिलेर सिध्याउन खोज्दा पनि जहाँको त्यही रहेको बताए ।
“हामीलाई कसैले बहिष्कार गर्छ कि गर्र्दैन । मतलब पनि छैन । नेपालको सबैभन्दा मजबुत देशभक्त, सबैभन्दा व्यापक सुदृढ शक्ति एमाले हो,” ओलीले भने ।