काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाइएका दानबहादुर कार्कीले दिएको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले गत कात्तिक २० गते रिट दिएका थिए । अहिले सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइ भइरहेको छ । कार्कीका कानुन व्यवसायीले बहस सुरु गरेका हुन् ।

कार्कीले आफूलाई सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी रिटमा गरेका छन् । मन्त्रिपरिषद्को गत कात्तिक १८ को निर्णय अनुरुप कार्कीलाई आईजीपीबाट पदमुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो ।

सरकारले एआईजी रहेका डा.मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको छ । सरकारबाट केसीलाई प्रहरी प्रमुख बनाउने गरी भएको निर्णय रोक्न तत्कालका लागि अन्तरिम आदेशको माग छ । रिट निवेदकको बहस सकिएपछि सरकारी वकिलले मन्त्रिपरिषद्को निर्णयको प्रतिरक्षामा बहस गर्नेछन् ।