विराटनगर । विराटनगर महानगरपालिका–४, इक्राहीस्थित उखुबारीमा शुक्रबार दिउँसो एक युवकको शव शंकास्पद अवस्थामा फेला परेको छ। उखुबारीभित्र घोप्टो परेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकको शरीरमा लगाएका कपडा यथावत् रहेको र दाहिने कानमा चोट लागेर सामान्य रक्तस्राव भएको देखिएको छ।
घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए। एसपी कटवालले युवकको शव शंकास्पद अवस्थामा फेला परेको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार युवकको मृत्यु वन्यजन्तुको आक्रमणबाट भएको हो वा हत्या गरी शव उखुबारीमा फालिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनास्थलको प्रारम्भिक अवस्था र प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने आशंका गरिएको छ।

मृतकको पहिचान पहिचानका लागि अनुसन्धान भइरहेको एसपी कटवालले जानकारी दिएका छन्। पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्रै युवकको मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।