विराटनगर । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको आरोपमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलका तत्कालीन सब–इन्जिनियर भोजबाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सब–इन्जिनियर पदमा नियुक्तिको लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सानोठिमी, भक्तपुरबाट जारी भएको डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा प्रमाणपत्र पेस गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सोमैले त्यसअघि पनि झुट्टा प्रमाणपत्रका आधारमा रूम्जाटार माध्यमिक विद्यालय, ओखलढुंगामा करिब दुई वर्ष प्राविधिक शिक्षकको रूपमा करार सेवामा रहेको अभियोगपत्रमा उल्लेख छ ।

सोमैले सब–इन्जिनियरको सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कैद र जरिवानाको सजाय गर्न अदालत समक्ष माग गरेको छ ।