Lite Nepal

बुधबार, फाल्गुण ०५, २०७७

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो।

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए। ‘आरोपितले अपराध स्वीकार गरिसकेका छन्’, डीआईजी सुवेदीले भने, ‘आरोपितलाई दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौँ।’ प्रहरीले उनीमाथि शंका गरेर पक्राउ नगरी केहि दिनदेखि निगरानीमा गरिरहेको थियो।

सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १३ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी निमोठेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छ।

गृहमन्त्री रामबहादुर थापाले मंगलबार बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका थिए। भट्टसम्बन्धी घटना कञ्चनपुरकी निर्मला पन्तको जस्तो जटिल नरहेको जनाउँदै उनले विगतबाट पाठ सिकेर टुङ्गोमा पुर्‍याउने गरी छानबिन प्रक्रिया अघि बढेको बताएका थिए।

निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं