Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

विराटनगर । कोरोना महामारीका कारण निषेधाज्ञाले देशनै ठप्प बने पनि सरकारले गौरवका आयोजनाको कामलाई रोकेको छैन।

यस्तै महत्वपूर्ण आयोजनामध्येको हो प्रदेश १ मा रहेको उत्तर–दक्षिण ‘लाइफलाइन’ (जोगवनी–किमाथाङ्का) सडक खण्ड। अहिले यसको सजिलो भाग मात्रै होइन, सबैभन्दा कठिन भागको पनि काम भइरहेको छ।

उत्तर–दक्षिण क्षेत्र जोड्ने ‘लाइफलाइन’ जोगवनी–किमाथाङ्का सडकको लम्बाइ ३ सय ९३ किलोमिटर हो। अहिले जोगवनीदेखि संखुवासभाको खाँदबारीसम्मको २ सय ३१ किलोमिटर सडक खण्ड कालोपत्रे भइसकेको छ। कठिन क्षेत्रमा पर्ने संखुवासभाको चेन्ताङदेखि घंगोप्पा सम्मको १४ किलोमिटर क्षेत्रमा पनि ट्रयाक खोल्ने काम सुरु भएको छ।

यो क्षेत्रमा फागुन १४ गतेदेखि नेपाली सेनाको टोलीले ट्रयाक खोल्न थालेको छ। अहिले पनि काम भइरहेको उत्तर–दक्षिण कोसी सडक आयोजना खाँदबारी डिभिजन कार्यालयका प्रमुख गौतमकुमार श्रेष्ठ बताउँछन्। १४ किलोमिटर क्षेत्रमा कडा चट्टानी पहाड रहेकाले झन्डै तीन वर्षदेखि यस क्षेत्रमा काम रोकिएको थियो।

‘कोरोना महामारी भनेर पनि भएन, काम भइरहेको छ,’ उनले भने, ‘हाम्रो भौतिक र वित्तीय प्रगति दुवै राम्रो छ।’ गौतमका अनुसार कोरोना संक्रमणका कारण मजदुर पनि प्रभावित बन्दा कामको गती केही घटे पनि रोकिएको भने छैन। अहिले चट्टानको क्षेत्रमा सेना र अन्य स्थानमा मजदुरले काम गरिरहेका छन्।

कडा चट्टानमा ट्रयाक खोल्न विस्फोटक पदार्थ आवश्यक पर्ने भएपछि मन्त्रिपरिषद्को बैठकले २०७६ भदौ २२ गते नेपाली सेनालाई सो काम सुम्पिएको थियो। सोही निर्णयअनुसार नेपाली सेनाले आवश्यक विस्फोटक पदार्थ भण्डारण गरेर काम सुरु गरेको हो। सेनालाई यो भागको ट्रयाक खोल्न दुई वर्षजति लाग्ने अनुमान गरिएको छ।

‘सेनाको टोली यतै बसेर काम गरिरहेको छ, उनीहरूमा पनि कोरोना संक्रमण भयो, तर काम रोकिएको छैन,’ गौतमले भने, ‘दुई वर्षमा चट्टान फोर्ने १४ किलोमिटरको काम पनि सकिन्छ।’ खाँदबारीदेखि वरुण नदीसम्मको ८० किलोमिटर खण्डमा हिउँदमा यातायात सञ्चालन हुन्छ।

बरुण नदीदेखि चेन्ताङसम्म ५४ किलोमिटर र घंगोप्पादेखि किमाथाङ्कासम्मको १४ किलोमिटर क्षेत्रमा पनि ट्रयाक खुलेको छ। ट्रयाक खुलेको क्षेत्रमध्ये खाँदबारीदेखि फाक्सिन्दो दोभानसम्मको ५० किलोमिटर क्षेत्रमा चार वर्षअघि नै ग्राभेल गर्ने काम सकिएको थियो। तर, केही स्थानमा सडक भत्किएको छ। यसरी भत्किएको सडक खण्डको मर्मत गर्ने काम पनि अहिले जारी छ।

‘पहाडी क्षेत्रमा वर्षातमा काम गर्न केही समस्या हुन्छ नै, बनाएको बाटो पनि भत्कने हुँदा मर्मत पनि सँगसँगै गर्नुपर्छ,’ प्रमुख श्रेष्ठ भन्छन्, ‘हिउँदमा बरुण नदीसम्म मज्जाले गाडी कुदाउन सकिन्छ।’

कोसी करिडोरको अरुण नदीदेखि गोलासम्म निर्माण गरिने १० वटा पुलमध्ये नौवटा निर्माणाधीन अवस्थामा छन्। त्यसमध्ये थाक्रे, नाङ, साङ र ओहाङ खोलामा निर्माणाधीन चारवटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको सडक आयोजना कार्यालय खाँदबारी डिभिजन कार्यालयले जनाएको छ।

यता उत्तर–दक्षिण कोसी राजमार्गको जोगवनी–धरानसम्मको ४९ किलोमिटर खण्ड छ लेन बनाउने काम पनि भइरहेको छ ।

जोगवनीदेखि ३० किलोमिटरसम्म कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको छ भने बाँकी १२ किलोमिटरमध्ये तरहरादेखि धरानसम्मको १० किलोमिटर जंगल क्षेत्रमा गत असारमै ठेक्का लागेर सडक निर्माणको काम धमाधम भइरहेको छ ।

निर्माण कम्पनीसँगको सम्झौताअनुसार उक्त १० किलोमिटर क्षेत्रमा तीन वर्षभित्र छ लेनमा सडक विस्तारको काम पूरा हुनेछ । ठेक्का लागे पनि इटहरीस्थित नेपाली सेनाको पृतनापतिको कार्यालयदेखि दक्षिणका दुई किलोमिटर क्षेत्रमा स्थानीयको अवरोधका कारण काम अगाडि नबढेको हो ।

यो आयोजना २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यो सडक आयोजना पूरा हुनासाथ नेपाल–चीन व्यापारका लागि अहिलेको चालू नाका तातोपानी र रसुवा नाकाभन्दा धेरै सहज हुने उद्योगी व्यवसायी बताउँछन्।

नेपाल–चीनबीच सम्झौता भयो भने विराटनगरबाट किमाथान्का हुँदै चीनको शिगात्से रेल्बे स्टेसनसम्म गएर प्रदेश नम्बर १ का व्यापारीहरूले चीन तथा अन्य देशसँग सोझै व्यापार गर्न सक्नेछन्। – अन्नपूर्ण पोस्ट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं