Lite Nepal

आइतबार, आषाढ १२, २०७९

काठमाडौं – गाउँ जाने बाटोमा बार । बारका बाँसमा टाँगिएका व्यानरमा लेखिएको छ, ‘कोरोना महामारी फैलने भएकाले गाउँमा जान निषेध गरिएको छ ।’ कुखुरा बोक्ने जीपमा विदेशमा निधन भएका छोराको शव बोकेर बाजुरा घर हिँडेका बुबाले यस्ता बार र बाधा धेरै छल्नुपर्छ । ‘लासमाथिको राजनीति’ र सुरक्षामा खटिएका प्रहरीले दिएको तनाब उतिकै । श्रीमानको निधन भए पनि शोकको कुनै धर्सा अनुहारमा नदेखिएकी बुहारी साथमा । शव बोक्ने भाँडाको जीपका चालक यी सबै दुःखका सारथी बन्छन् । कथा हो – प्रदर्शन भइरहेको चलचित्र ‘चिसो मान्छे’को ।

स्वस्तिमा खड्काको मुख्य भूमिकामा दौडिएको यो चलचित्र एउटै कथामा सकिएको छ । स्वस्तिमाकै वरिपरि घुमेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शव उठाएदेखि गाउँमा पु¥याएर अन्त्यष्ठि गर्दा सम्मको सोलो कथा बग्छ । कोरोना महामारीको समयमा सुदुरपश्चिम नेपालका नागरिकले भोगेको पीडालाई चलचित्रले केही कोट्याएको छ । तर, मज्जाले कथामा जम्न नसकेको भने प्रष्ट देखिन्छ । स्वस्तिमा सुदूरपश्चिमकै महिलाको भूमिकामा देखिएकी छन् । त्यहाँ उच्चारण गर्ने नेपाली भाषालाई न्याय गरेर कथामा बहन सके पनि सुदूरपश्चिमका महिलाको पीडा छोएको मात्रै छ । त्यसले पारेको सामाजिक असर र दिइने शन्देश चलचित्रमा खासै देखिन्न । चलचित्रका मुख्य कुरा टेलरमै सकिएका छन् ।

 

सपना र रहर छोप्दै सानै उमेरमा विवाह गरेर श्रीमानको माया र महत्व महसुस नगरेको पात्रका रूपमा स्वस्तिमालाई देखाइएको छ । त्यसैले हुनुपर्छ चलचित्रमा श्रीमानको निधन भए पनि त्यसको उनले कुनै मतलब गरेकी हुन्नन् । विमानस्थलबाट गाउँसम्म जीपको डालीमा श्रीमानको शव राखेर लग्दा उनले त्यो एउटा भारी बोकेर गाउँसम्म लगेको जस्तो मात्रै महसुस गरिरहेकी हुन्छिन् । चुलबुले स्वभावमा देखिएकी उनलाई ससुराले लोग्नेकोे मृत्यु सम्झाउँदा पनि प्रश्न गर्दै भन्छिन्, ‘को लोग्ने त्यो चिसो मान्छे ?’

‘पहिले सती जाँदा तन डड्ने तर, अहिले शरीर नभई मन डड्ने’ स्वस्तिमाको फिल्मी डाइलगले भने कथालाई केही मिठास थपेको छ । चलचित्रमा स्वस्तिमाले बोलेको चिसो मान्छेको पहिलो डाइलगलाई छोराको शव लिएर गाउँ पुग्दा छरछिमेक र समाजको साथ नपाउँदा ससुराले पनि समाजलाई चिसो मान्छेहरूको समाजका रूपमा बोलेका छन् ।

 

सुरुवातदेखि अन्त्य सम्म जीपमा बोकेको शवसँगै सडकै सडक दैडिएको चलचित्रमा कथा कतै मोडिदैन । १८ लाख पारिश्रमिक बुझेकी स्वस्तिमाले आफुलाई दिएको भूमिका त मज्जाले निभाएकी छिन् । तर, चिसो मान्छेमा कथा पनि अलि नतातेको महसुस भने हुन्छ । आमा, पशुपति प्रसादलगायत फिल्म बनाएका दीपेन्द्र के खनालको निर्देशन, कथा र शर्मिला पाण्डेद्धरा निर्मित चलचित्रमा चिसो मान्छे पहिलेका चलचित्र भन्दा केही खल्लो भने छ नै ।

चलचित्र बजारमा आएको छ । स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसीलगायतका कलाकारको अभियन र कथालाई अब मन पउँछन् या नाक खुम्च्याउँछन् हलमा पसेको दुई घन्टामा निर्णय दिने नै छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं