Lite Nepal

बुधबार, पुष २७, २०७९

काठमाडाैं – यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।

“गत वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए”, उहाँले भन्नुभयो । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको ‘राज सुड सुडिया’ नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताउनुभयो ।

गतवर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यसवर्ष देखा परेको संयोजक चौधरीले बताउनुभयो । “यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्”, उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गत वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन् ।”

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातीका चरा पाइने गरेका छन् । ती मध्ये नारायणी नदी क्षेत्रमा यसवर्ष उक्त प्रजाती फेला परेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यसवर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ ।

“यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ”, चौधरीले भन्नुभयो “प्रत्येक वर्ष नेपालमा क्रमिक रुपमा चराको सङ्ख्या घटिरहेको छ ।” साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उहाँले बताउनुभयो ।

“कुनै प्रजातिका चरा गत वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गत वर्षको तुलनामा न्यून देखिएका छन्”, “चौधरीले भन्नुभयो, “यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।” निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं