रामप्रसाद पौडेल

शनिबार, साउन १७, २०७७

 

यातायात मानव जीवनका लागि अत्यावश्यक वस्तु हो। यातायातका साधन प्रयोगविना मानिसका आवश्यकता पूरा हुन सक्दैनन्। सवारी साधन हाम्रो जीवनको महŒवपूर्ण पाटो हो। यातायातका साधन कसैलाई अनिवार्य आवश्यकता, कसैलाई विलासिता तथा कसैलाई जीवनस्तरको मापक होला त दूरदराजकालाई पहुँचको अभाव पनि हुन सक्ला। यो मानव जीवनसँग अन्तरसम्बन्धित भएर रहेको छ। हामीले यातायातका साधन प्रयोग गर्दा आफ्नो स्वास्थ्य कायम राख्दै यात्रा गर्नुपर्छ। यातायातका साधन प्रयोग गर्दा स्वास्थ्यमा कुनै पनि समस्या आउनबाट मुक्त हुन वाञ्छनीय छ।

एकजनाको स्वास्थ्यको कारणले अर्काको स्वास्थ्यमा प्रभाव पर्न नहुने, यातायातको साधनको कारणले मानव स्वास्थ्यमा प्रभाव पार्न नहुने, यात्रा स्वस्थ हुनुपर्ने, विशेष अवस्थामा रहेकाका लागि उपयुक्त सवारी व्यवस्था हुनु, सामान्य दुर्घटना भएको अवस्थामा प्राथमिक उपचारको उपलब्ध गराउने व्यवस्था यातायात स्वास्थ्यका महŒवपूर्ण आयाम हुन्।

हरेक नागरिकले मानव स्वास्थ्यमैत्री यातायातका साधन प्रयोग गर्ने चाहना हुनु स्वाभाविक मात्र नभई उनीहरूको अधिकार पनि हो। यात्राका लागि तिरेको रकम कुनै ठाउँमा पुग्न मात्र नभएर स्वास्थ्य संरक्षणका लागि पनि हो। विश्व स्वास्थ्य संगठनका अनुसार ‘स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु पनि हो।’ त्यसैले यातायात स्वास्थ्यमा यात्रुको शारीरिक, मानसिक, सामाजिक, वातावरणीय, व्यावसायिक एवं आर्थिक आयामसमेत रहन जान्छ। स्वास्थ्य कमजोर भएमा काम गर्न सक्ने क्षमतामा कमी आउँछ। यसले मानिसका व्यक्तिगत तथा सामाजिक काम, जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न सक्ने अवस्था रहँदैन। कमजोर स्वास्थ्यले मानिस शरीरलाई मात्र कमजोर बनाउँदैन, उसको आर्थिक सामाजिक अवस्थालाई परोक्ष रूपमा असर गर्छ। मानव स्वास्थ्यसँग आर्थिक अवस्थाको सीधा सम्बन्ध हुन्छ। स्वस्थ व्यक्ति नै उत्पादनशील हुन्छ। समग्रमा भन्दा स्वास्थ्य नै मानवको सबथोक हो।

यातायातका साधनबाट ज्यान जोखिम, अकाल मृत्यु, अपांगता एकातिर छ भने अर्कातर्फ यसबाट स्वास्थ्यमा पार्ने अनेक समस्या कहालीलाग्दो रूपमा रहेका छन्। यातायात साधनको क्षमताभन्दा बढी यात्रु राख्नु, सेवा प्रदान गर्न नसक्ने गाडीहरूको प्रयोग भइराख्नु, साधन चल्न अनुपयुक्त बाटोहरूमा गाडी चलाउनु, हावा प्रवेशको सुविधासमेत नभएका गाडीहरूको प्रयोग हुनु, गाडीहरूको चल्न सक्ने क्षमता तथा अक्षमता निर्धारण नहुनु, सिन्डिकेटले गर्दा यात्रुलाई छनोटको अधिकार नहुनु, प्रतिस्पर्धा कानुनको उपहास गर्नु, सामान र यात्रुलाई यौटै साधनमा राख्नु समस्या हुन्। यसैगरी यातायात व्यवसायीको सामाजिक उत्तरदायित्व नहुनु, यातायातका साधनमा मानवीय व्यवहार गर्न यातायात व्यवसायी चुक्नु, गाडीका छतमा मानिस राख्नु, पुराना गाडीहरूको प्रयोग हुनु, समय पद्धतिलाई अनुसरण नगर्नु, ट्राफिक प्रहरीको सेवालाई सहयोगीका रूपमा नभई शत्रुका रूपमा लिनु, मादक पदार्थ प्रयोग गरी सवारी चलाउनु, सिट नभएको अवस्थामा उभिन बाध्य पार्नु, सानो नाम मात्रको सिट राख्नु, माइक्रोबसमा पछाडि फर्केर बस्ने अस्वस्थकर सिट राख्दा पनि यात्रुले असुरक्षित महसुस गर्नु परेको छ। होटल वा पसलमा लगी रोक्नु, यात्रुले दिसापिसाब उत्सर्जन गर्ने उपयुक्त स्थान र समय नपाउनु, दिसापिसाबलाई अनावश्यक रूपमा रोक्न यात्रु बाध्य हुनु, सवारी साधन बाटो र यात्रुका बीचमा तादात्म्य कायम नराखी गाडी चलाउनु, अनावश्यक रूपमा गाडीलाई उछिन्ने कार्यमा प्रतिस्पर्धा चल्नु आदि कार्यले यात्रुको स्वास्थ्यमा प्रभाव पारिरहेका छन्। यस प्रकारका गतिविधिले यात्रुलाई दुःख, झञ्झट र हैरानी दिन्छन्।

यात्रुले पैसा तिरेअनुसारको स्वास्थ्यमैत्री सवारी चढ्न नदिने व्यवसायी र सो व्यवस्था मिलाउन नसक्ने सम्बद्ध निकायलाई सधैं अनुत्तरदायी बन्न सुहाउँदैन।
समाजका अरू क्षेत्रमा सुधार हुँदै जाँदा यातायातका क्षेत्रमा पनि सुधार हुन आवश्यक छ। यातायातका साधनहरूको दुर्घटना दर वृद्धि हुनु र यसबाट हुने अकाल मृत्यु, अपांगता दर बढ्नु तथा यातायातमा हुने अपराधजस्तै जबर्जस्ती करणी, कुटपिट, हिंसालगायत हुन नदिन सक्नुपर्छ। भारतमा निर्भयाको मुद्दा यातायातमा नै घटित थियो भने नेपालमा पनि यातायातमा अपराध हुने गरेको देखिन्छ। यातायात क्षेत्रलाई मानव स्वास्थ्यमैत्री एवं सुरक्षित बनाउन कुन–कुन यातायातका साधन कस्तो–कस्तो क्षेत्रका लागि आवश्यक छन् ? हाम्रो यातायात क्षमता कति हो ? यातायात सञ्चालनको न्यूनतम मापदण्ड के हो ? यस सम्बन्धमा अवधारणागत एवं व्यवहारगत स्पष्टता आउन जरुरी छ। मादक पदार्थ सेवन गरी गाडी चलाउनेलाई नियन्त्रण गरेपछि मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा कमी हुन गएको छ। जुन निकै सकारात्मक हो। यस्तो अभियानलाई सहयोग गर्दा सबैलाई फाइदा नै पुग्छ। यातायात प्रयोगकर्ता मात्र नभई यातायातका साधन चल्ने आसपासका मानिस पनि यातायातबाट दुर्घटनामा पर्ने, धुलो धुवाँबाट स्वास्थ्यमा असर गर्नेजस्ता प्रभाव देखिन्छन्। यसका लागि राज्यले राजमार्गका नजिक बसोवास गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ। यातायातका साधन प्रयोगकर्तालाई सरुवा रोग लागेको भए विशेष सावधानी अपनाउनुपर्छ। सरुवा रोग लागेका यात्रु तथा कर्मचारीबाट अरू यात्रुमा रोग सर्न सक्ने अवस्थालाई कसरी कम गर्न सकिन्छ, त्यसतर्फ पनि ध्यान दिनुपर्छ। सार्वजनिक यातायातमा ठूला बस चढ्ने बानी धेरै राम्रो हो। बसाइ सहज, धेरैजना अटाउन सक्ने हुँदा ठूला बस छनोटमा पर्नु स्वाभाविक हो। यस्ता सवारीमा वान्ता कम हुनेसमेत हुन्छ। जस्तैः माइक्रो, ट्याम्पो आदि साधनमा नजिक एवं खाँदिएर बस्नुपर्ने हुँदा रोग सर्न सक्ने सम्भावना बढी हुन्छ। अहिले विश्व नै कोभिडको महामारीले यातायात व्यवसाय थला परेको छ भने अर्कोतर्फ भाइरस यातायातका साधनको कारणले सर्ने अवस्था रहन सक्छ। यातायातबाट रोग सर्ने स्थिति कोभिडको विश्व महामारीले सबैलाई सचेत पारेको छ।

सबै नागरिकले व्यक्तिगत गाडी चढ्न सक्ने अवस्था एकातिर छैन भने अर्कातर्फ ट्राफिक व्यवस्थापनको कारणले पनि हामीकहाँ सम्भव छैन। अहिलेको जस्तै यातायातको साधनको वृद्धि भइराख्ने हो भने काठमाडौं उपत्यकाले थेग्न सक्ने अवस्था पनि हुँदैन। हाल भएका यातायातका साधनहरूमा पनि पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ। सार्वजनिक यातायात भरपर्दो, विश्वासिलो तथा स्वस्थपूर्ण गराउन सकेमा व्यक्तिगत गाडीमा लगानीसमेत आवश्यक देखिँदैन। सबैलाई यातायातको साधन होइन, सामूहिक सवारी नै हाम्रो अहिलेको आवश्यकता हो। यातायात स्वास्थ्य सेवा उपलब्ध गराउन राजमार्ग आसपासका अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई यातायात दुर्घटनाबाट हुने उपचार गर्न सक्ने दक्ष विशेषज्ञ सेवा एवम् स्रोतसम्पन्न गराउन वाञ्छनीय छ।

अन्त्यमा, सार्वजनिक क्षेत्रबाट जसले बढी फाइदा लिन्छ, उसले र जोसँग अख्तियारी छ, ऊ बढी जिम्मेवार र उत्तरदायी हुन जरुरी देखिन्छ। मुलुकमा सिन्डिकेट, कार्टेलिङका साथै क्रोनी क्यापिटलिज्म रहेसम्म असल व्यवसाय फस्टाउन सक्दैन। उपभोक्ता संरक्षण ऐन, प्रतिस्पर्धा प्रवर्धन ऐनलगायतका कानुनको मर्मअनुसार यातायात व्यवसाय पूर्णरूपमा सञ्चालन भएको देखिँदैन। कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका निकायले खुट्टा कमाउनु हुँदैन। सर्वप्रथम यिनै भएका कानुन कार्यान्वयन हुन सकेमा नागरिकले धैरै राहतको महसुस गर्न पाउँथे। यातायातमा स्वास्थ्यमैत्री वातावरण बनाउन यातायात व्यवसायीले आफ्नो पेसागत व्यवहारलाई सुधार गर्न तत्पर देखिनुपर्छ। यात्रुहरूको छनोटको अधिकारलाई उनीहरूले सम्मान गर्न सक्नुपर्छ। यातायात स्वास्थ्यमा प्रत्यक्ष–परोक्ष रूपले भ्रष्टाचार पनि जोडिन गएको देखिन्छ। यसका लागि राजनीतिक नेतृत्व एवं कर्मचारीतन्त्रमा सुधार हुन जरुरी देखिन्छ। यात्रुहरूले भोग्ने पीडा सबैसँग सम्बन्धित छ। यातायात स्वास्थ्य सबै जनताको हित गर्ने बहुआयामिक एवं अन्तर्सम्बन्धित अवधारणा हो। यात्रुले पैसा तिरेअनुसारको स्वास्थ्यमैत्री सवारी चढ्न नदिने व्यवसायी र सो व्यवस्था मिलाउन नसक्ने सम्बद्ध निकायलाई सधंै अनुत्तरदायी बन्न सुहाउँदैन।

यातायात क्षेत्रमा विभिन्न विकृति–विसंगति रहे पनि अहिले सार्वजनिक यातायात कोभिड— १९ को कारणले आफैं अस्वस्थ छ। यस अवस्थामा यातायात व्यवसाय क्षेत्रमा प्राण वायु भर्नुपर्ने काम राज्यकै हुन जान्छ। कोभिडको विश्वव्यापी महामारीले थलिएको अर्थतन्त्र, देश र देशभित्रका प्रणालीहरूभित्र नागरिकलाई सेवा प्रदान गर्ने यातायात व्यवसायलाई ब्युँताउनुपर्छ। यातायात व्यवसायलाई स्वस्थ बनाउन सके मात्र मानवको यातायात स्वास्थ्य कायम हुन सक्ने देखिन्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com प्रदेश १ को राजधानी विराटनगरबाट सञ्चालन भएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो ।

हाम्रो टिम

सम्पादक
घनश्याम भट्टराई

 

सम्पर्क

विराटनगर २, मुनालपथ, मोरङ
(977)9820718140
[email protected]