Lite Nepal

आइतबार, आश्विन ०४, २०७७

विराटनगर । मोरङ जहदाकी मञ्झा रिसिदेवको १४ वर्षको उमेरमा विवाह भयो १५ वर्षको उमेरमा जन्मिएको पहिलो छोरो अहिले ८ वर्षको छ । विवाह के हो समेत नबुझि विवाह बन्धनमा बाँधिएकी मञ्झाको २२ वर्षको उमेरमानै चार सन्तान भए । भखरै विवाह गर्ने उमेर भएकी मञ्झा चार सन्तानकी आमा बनिसकेकी छिन् ।

सोही स्थानकी २० वर्षीया मीनीया रिसिदेवको तीन जना बच्चा छन् । ७ वर्ष अघि मोरङको लक्ष्मीना माइती भएकी उनको जाहदा ३ का बसन्ता रिसिदेव सँग १३ वर्षको कलिलो उमेरमानै मागी विवाह भएको थियो । कलिलो उमेरमानै उनले घर व्यवहार र छोराछोरी स्याहार्नुपर्ने बाँध्यता छ ।

बाल्यकालमानै विवाह गरेर आमा बन्नेका मञ्झा र मीनीमाया यो समाजका प्रतिनिधी पात्र मात्रै हुन् । मोरङको ग्रामिण क्षेत्रमा बस्ने दलित समुदाय संगै अन्य सीमाकृत समुदायका बालिकाहरुको अझै पनि कलिलै उमेरमा विवाह हुन्छ । कानुनत विवाह गर्ने उमेरमा उनिहरु आमा बनिसकेका हुन्छन् ।

२२ वर्षको उमेरमा चार सन्तानकी आमा बनेकी मञ्झालाई भखरै मात्रै थाहा हुँदैछ आफ्नो कलिलै उमेरमा विवाह भएछ भनेर । ‘पढ्दा पढ्दै विवाह भयो, पढ्ने रहर त थियो तर, पाईएन,’ उनले भनिन् ‘अहिले मात्रै थाहा हुँदैछ, सानैमा विवाह गर्नु बालविवाह हो, यो गर्न पाईदैन भनेर ।’ उनका श्रीमान मिस्त्रि काम गर्छन्, उनी घर व्यवहार समाल्छिन्, छोरा छोरी हुर्काउने र घरको काम गर्नु बाहेक उनलाई अन्य विषयका जानकारी छैन । ‘सानैमा विवाह गर्नुहुँदैन भनेर कसैले सिकाएन, म मात्रै हैन धेरै युवतीको सानै उमेरमा विवाह भएको छ, पढ्ने कुरात भएन,’ उनले भनिन् ‘यस्तो क्रम अझै हाम्रो समाजमा छ ।’

कुन उमेरमा विवाह गर्ने, विवाह गरेपछि आफ्नो भुमिका के हुन्छ, कुन समयमा बाल बच्चा जन्माउने भन्ने विषयमा जानकारी समेत नपुग्ने यो समुदायमा बालविवाहको क्रम हाल सम्म पनि रोकिएको छैन । घरका बुबा आमाले जे भन्यो त्यै मान्नु पर्ने र जहिले भन्यो तहिले विवाह गर्नुपर्ने बाध्यता यस स्थानका बालबालिकामा रहेको छ । सानै उमेरमा विवाह गर्नेमा बालक भन्दा बालिका धेरै रहेका छन् ।

खेल्ने र रमाउने उमेरमानै विवाह भएर पराई घर पुगेका उनिहरुको अनुहारले प्रष्ट झल्किन्छ खुसी छैन भन्ने, तर पनि आफुहरु बाध्य भएर घर परिवारको निर्णय मान्न तयार हुनुपर्ने अवस्था रहेको स्थानीय मीनीया रिसिदेव दुखेसो पोख्छिन् । ‘नत केटाको विषयमा थाहा हुन्छ, ठुलो उमेरका सँग विवाह गरेर पठाउँदा आफ्नो दुख पनि बुभ्mदैनन्,’ उनले भनिन् ‘बोल्न र आफ्नो कुरा राख्न पनि पाईदैन ।’

सानैमा विहे गरे पछि विवाह गरेको केही समयमानै बच्चा जनाउनु पर्छ भन्ने र घर परिवारले दबाद दिदा कलिलैमा आमा बन्नुपर्ने बाध्यता आफुहरुमा हुने उनिहरु बताउँछन् । विवाह गरेर लामो समय समम बाल बच्चा भएन भने समाजले कुरा काट्छन्, सासु, श्रीमानले पनि हेप्न थाल्छन्, यो हाम्रो बाध्यतानै हो, भगवानको आशिर्वाद भन्दै बच्चा जन्माउनु पर्छ,’ जहदाकै २१ वर्षिया किरण पासवान भन्छिन् ‘मेरो यो उमेरमा ३ सन्तान भए ।’

२० वर्ष नपुगी विवाह गरे कानुनले दण्ढ र जरिवान गर्ने ऐन रहे पनि यस क्षेत्रका दलित समुदायमा अहिले विवाह गर्ने उमेरका युवती तीन देखि चार वटा सन्तानको आमा बनेको पाइको छ । २० वर्ष नपुग्दै विवाह गर्न नहुने भनेर सरकारले विभिन्न कार्यक्रम र अभियान ल्याए पनि यस क्षेत्रमा धेरै जना उमेर नपुगेका महिला बालविवाह गरी आमा बनिसकेकी छन् । सरकारका यस्ता अभियान दलित र सीमान्तकृत समाजमा अझै पुगेको छैन ।

मजदुरी गर्ने र १५ वर्ष नपुग्दै विवाहको कुरा चर्चा गरिहाल्ने परम्पराले दलित समुदायमा बालविवाहको विकराल रुप छ । समुदायमानै सुटुक्क विवाह सकिने, बालिका आमा बन्ने प्रत्यक्ष देखिए पनि यस्ता क्रमलाई स्थानीय तहले रोक्न सकेका छैनन् । तर, तहका जनप्रतिनिधी र यो अभियानमा लागेका सरकारी कर्मचारी भने अझै पनि यो विषयलाई ढाकछोपमै मस्त छन् । उनिहरु बालविवाह रोकिएको दाबी गर्छन् ।

पछिल्लो समय स्थानीय तहले वडा स्तरमा निरन्तर रुपमा बालबिवाह गरे कानुनी कारवाही गर्ने लगायतका जागरण वडा स्तरमा गर्ने थाले पछि कमि आएको स्थानीय कलानन्द पासवान दाबी गर्छन् । ‘पहिला त चाडै नै विवाह गर्नु पर्ने मान्यता थियो, अब कानुन आएकाले कम भएको छ,’ उनले भने ‘कलिलो उमेरमा विवाह गरेका कारण निरन्तर बच्चाहरुमा रोग लाग्ने समस्या हुनुको साथै छोरीहरुमा समेत समस्या हुने गरेको देखेको छु ।’

समाजिक अभियन्ता राजेश झा सानै उमेरमा विवाह भएकाहरुको दाम्पत्य जीवन समेत कष्टकर भएको बताउँछन् । उनका अनुसार बालविवाह गरेका दलित समुदायमा श्रीमतिलाई छाडिदिने दिने र स्वीकार नर्गुको साथै निरन्तर कुटपीट हुने गरेको समस्या अचेल बढेको छ । उनले भने ‘भारतमा विवाह गरेर जाने कतिपय नेपाली चेलीहरु पहचान विहिन समेत भएकी छिन् ।’

नेपालको संविधान अनुसार बालविवाह कानूनी अपराध हो । बालबालिका सम्बन्धी ऐन, २०७५ दफा ७२ (३०) (ख) मा स्पष्ट रूपमा विवाह गर्नेको उमेर २० वर्ष नपुगी कसैले बालबालिकाको विवाह तय गर्ने वा गराउनेलाई बालबालिकाविरुद्धको कसुर मानी ७५ हजार रुपैयाँ सम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा