प्रदेश १ का खुल्ला सीमानाबाट हुलका हुल नेपाल

प्रदेश सरकार भन्छ : अब कडाई गर्न सकिदैन

Lite Nepal

मंगलबार, आश्विन २७, २०७७

विराटनगर । नेपालमा कोरोना संक्रमण रोक्न स्थलमार्गका अन्तरदेशिय सीमाना औपचारीक रुपमा बन्द छन् । मुख्य नाका बन्द भए पनि प्रदेश १ का झापा, मोरङ र सुनसरीका अन्य खुल्ला स्थानबाट दैनिक नेपाल भित्रनेको लर्को अझै घटेको छैन । नेपालमा चाड नजिकिएसँगै यो क्रम अझै बढ्दा कोरोना संक्रमण प्रदेश १ मा तिब्र गतिमा फैलिएको छ । कोरोना संक्रमण नपुगेको जिल्ला प्रदेशमा छैन ।

चैत देखी जेठ सम्म सीमानामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गस्ति दैनिक भए पनि यो क्रम रोकिएपछि खुल्ला सीमानाबाट नेपाल छिर्नेलाई सहज छ । भारतबाट नेपाल छिर्नेहरु विना रोकावट र स्वास्थ्य सावधानी नअपनाई सहजै घर सम्म पुग्ने गरेका छन् । पछिल्लो समय सुरक्षाकर्मी समेत मुख्य नाकामा मात्रै बस्ने गरेका छन् । जुन बन्द अवस्थामा छ ।

विराटनगरको जोगवनी नाकाको प्रवेशद्घार नजिकै सशस्त्र र नेपाल प्रहरीले कडाई गरेको दैनिक देखिन्छ तर, एक किलोमिटर नजिकै रहेको इस्लामपुरबाट दैनिक हजारौको सख्यामा खाद्यान्य सामग्री लिन नेपालीहरु सहजै भारत प्रवेश गर्ने गरेका छन्, भने भारतबाट नेपाल छिर्नेको लर्को उस्तै देखिन्छ ।

दशै नजिकिएसँगै नेपालका स्थानीय उपभोक्ता र झोलामा मालसामान बोक्ने कारोबारीहरुलै दिन रात समान ओसार पसार गर्ने र भारतबाट नेपाल भित्रनेको पनि दैनिक यो क्षेत्रबाट भिडनै लाग्ने गरेको स्थानीय रामजी यादव बताउँछन् । ‘यो सीमानामा म जहिले यस्तै देख्छु, पारीबाट आउने सिदै घर जन्छन्, यताबाट जानेको पनि स्वास्थ्य सुरक्षित हुँदैन जस्तो लाग्छ, पारी पुगेर आउँदा,’ उनले भने ‘यता गाउँ गाउँ सम्म कोरोना पुर्याउने यसरीनै भित्रने होलान जस्तो लाग्छ ।’

विराटनगरको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) उत्तर र विराटनगर भन्सार दक्षिणमा रहेको इस्लामपुर नाकामा सीमा वारपार गर्ने नागरिकको घुइचो कुनैदिन नघटेको विराटनगर ११ का स्थानीय प्रजन थापा बताउँछन् । ‘मेरो आफन्तको घर त्यो सीमाना नजिकै छ, म त्यहाँ जाँदा पहिले अचम्म लाग्यो, अन्य क्षेत्रमा कडाई भए पनि यो नाकाबाट हुलका हुल नागरिक नेपाल ओहोर दोहो गर्छन्’ उनले भने ‘यहाँ कुनै सावधानी र रोकछेक देख्दिन ।’

भन्सार अगाडी दशगजामा भारत तर्फका मानिसले दिएको औषधिसमेत लिन नदिए जस्तो गरेर कडाई गर्ने इलाका प्रहरी कार्यालय रानीदेखि १ किलोमिटर दक्षिणमा रहेको यस नाकाबाट नियमित मानिसको ओहोर दोहोर हुँदा प्रदेश र संघिय सरकार मौन रहेको स्थानीय जनप्रतिनिधी गुनासो गर्छन् । ‘सीमानामा कडाई गर्ने अधिकार प्रदेश र केन्द्र सरकारलाई छ, हामीले बारम्बार भन्दा समेत अझै यसरी खुल्ला सीमानाको फाईदा उठाउनेलाई प्रदेश र केन्द्र सरकारले रोकन सकेन,’ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन् ‘हाम्रो आग्रह लत्याउँदा अहिले यो अवस्था सृजना भएको छ ।’

पहिले सिमावर्ती क्षेत्रका नागरिकको किनमेल गर्ने बजार नै भारतको जोगवनी भएकाले अझै पनि लुकिछिपी त्यस बजारमा जाने क्रम नरोकिएको र त्यहाँबाट फर्कदा संक्रमित भएर आउँने धेरै रहेको मेयर पराजुली दाबी गर्छन् । ‘पहिले सीमानामा गस्ति हुँदा संक्रमित कम थिए, अहिले गस्ति हट्यो वारी पारी गर्ने देखि भारतबाट सीदै घर जानेले संक्रमण दोब्बर बढाएका छन्,’ मेयर पराजुली भन्छन् ।

भारतबाट आउने क्रम क्रमश बढ्दै गएको र पारी गएर दैनिक उपभोग्य बस्तु लिएर आउनेहरुको संख्या पनि उच्च रहेकाले पछिल्लो समय विराटनगरमा दैनिक १ सय ५० को हाराहारीमा संक्रमित संख्या पुग्ने गरेको उनी बताउँछन् ।

सोमबार यसै नाकाबाट नेपाल भित्रीएका मोरङ सुनवर्षीका राकेश सुनारले यसरी आफु नेपाल भित्रनु बाध्यता भएको सुनाए । ‘चाड आयो अस्ति पनि घर आएको थिइन, अहिले बोटो खोजेर यताबाट आएँ, अब सिदै घर जाने हो,’ उनले सुनाए ।

‘प्रहरी नै नदेखो जस्तो गर्छ’

प्रदेश १ का भारतसँगको खुल्ला सीमाको फाईदा उठाउँदै कुन स्थानबाट आवत जावत हुन्छ प्रहरी प्रशासन यस विषयमा विज्ञ छ । जेठ सम्म सीमानामा दैनिक गस्ति गरेको नेपाल प्रहरी र शसस्त्र प्रहरीले सो समय खुल्ला नाकाबाट भित्रने र बाहिरिनेलाई रोके पनि पछिल्लो समय त्यस विषयमा ध्यानै नदिएको सीमा क्षेत्रका नागरिकको आरोप छ ।

‘हामीले धेरैपटक सीमानामा रहेका प्रहरी प्रशासनलाई यसरी ओहोरदोहोर रोक्न हार गुहार गरेका थियौँ,’ मोरङ रानीका सरोज चौधरी भन्छन् ‘हामीले भनेको नत प्रहरी सुन्छ नत प्रशासन ।’ पछिल्लो मुख्य नाका बाहेक अन्य खुल्ला सीमानालाई तस्करी र नेपाल प्रबेसको मुख्य द्धार बनाए पनि यसमा सीमानामा खटिने शसस्त्र र प्रहरीले ध्यान नदिनु तस्कर सँगको मिलेमतो हो भन्छन् स्थानीय नागरिक ।

‘तस्करको बाटोबाट अहिले नेपाल भित्रने नागरिक पनि सिदै आउन थालेका हुन्, तस्करसँग प्रहरी मिल्दा सबैको ओहोरदोहोर हो,’ अर्का स्थानीय श्याम ठाकुर भन्छन् ‘अब घर घरमा यसै स्थानबाट कोरोना पुग्यो ।’

एक महिना अघि मात्र इलाका प्रशासन कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापालाई स्थानीय नागरिकहरु पुगेर यो विषयमा जानकारी गराए पनि ध्यान नदिएको ठाकुर बताउँछन् । प्रहरी निरिक्षक थापा भने आफु सो समय विरामी भएर बसेकाले सो विषयमा आफु जानकार नरहेको र अहिले प्रहरी पनि धेरै संक्रमित भएकाले गस्ति माथिकै निर्देशनमा हुन छाडेको बताउँछन् ।

यस स्थानबाट दैनिक दिउँसो २ बजेदेखि ३ बजेसम्मको अवधिमा एक सयको संस्थामा सीटी रिक्सा र टेम्पो इलामपुर नाका छेउमा ओहोर दोहोर गरेको प्रत्यक्ष देख्न सकिन्छ । यो नाकामा इटहरी, खनार, दुहबीदेखिका व्यापारी भन्सार छलेर सामान ल्याउन आउने र भारतबाट नेपाल आउनेहरुको भिड बढी हुने गरेको छ ।

मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्का आवश्यक काम देखाएर पनि सीमा वारपार गर्न छुट नदिइएको दाबी गर्छन् । ‘हामीले गौंडा गौंडामा प्रहरी खटाएकै छ, यसरी छुट दिएको छैन, कैबाट लुकेर आउँछन् भने कसरी रोक्नु ? जनशक्ति पर्याप्त पनि त हुनु पर्यो,’ उनले भने ।

यो भन्दा कडा गर्न सकिदैन ः प्रदेश सरकार

प्रहरीको अनुस्थिती रहेको खुल्ला सीमानाको फाईदा उठाउँदै मुख्य नाका बाहेकका स्थानबाट खुलेआम ओहोर दोहोर बढे पनि प्रदेश सरकार भने यो भन्दा कडाई सीमानामा गर्न नसक्ने बताउँदै आएको छ ।

प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले केन्द्र सरकार सँगको समन्वयमा सीमाना कडा गरिएको र यो भन्दा कडाई गर्न अब नसकिने बताए । ‘भएको जनशक्ति परिचालन गरिएकै छ, यो भन्दा अब कडा गर्न प्रदेश सरकार सक्दैन,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा