Lite Nepal

आइतबार, कार्तिक १६, २०७७

धरान । सुनसरीमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या दैनिक वृद्धि भइरहेको छ। संक्रमितको संख्या वृद्धि भएसँगै जिल्लाका अस्पतालहरुमा बेड अभाव हुन थालेको छ। अस्पतालहरुमा बेड अभावका कारण सुनसरीका धेरै संक्रमित होम आइसोलेशनमा बसेका छन्।

होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमित बिरामीहरुले न्युनतम स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोना भाइरसको झन् जोखिम बढेको हो।होम आइसोलेसनमा बसेका संक्रमितहरु खुलेआम हिड्न थालपछि सुनसरीमा कोरोना नियन्त्रणमा चुनौति थपिएको छ।

सुनसरीमा कोरोना भाइरसको संक्रमणका कारण ९१ जनाले ज्यान गुमाई सकेका छन्। हालसम्म ५ हजार ७० जनामा संक्रमण देखिएको छ। जसमध्ये २ हजार ३ सय १५ जना निको भएका छन्। अस्पतालमा बेड अभावका कारण २ हजार ३ सय ५० जना संक्रमित होम आइसोलेसनमा रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए।

संक्रमित भएर होम आइसोलेसनमा बसेकाहरुले चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने, कम्तिमा १५ दिनसम्म होम आइसोलेसनमा बसी परिवार र अन्य व्यक्तिहरुसंगको भेटघाट बन्द गर्नुपर्ने हुन्छ। पीसीआर रिपोर्ट पोजिटिभ देखिएपश्चात अस्पतालमा बेड अभावका कारण होम आइसोलेसनमा बसेका संक्रमितहरुले बजारमा किनमेल गर्न जाने,बिहानरबेलुका दौडने, विभिन्न मठमन्दिरहरुमा गएर दर्शन गर्ने काम गरिरहेका छन्।

संक्रमितहरुका यस्ता क्रियाकलापले घरपरिवारका सदस्यलाई मात्र नभई सिंगो समाजलाई संक्रमण फैलन सक्ने भन्दै स्थानीय बासिन्दा त्रसित भएका छन्। सुनसरीका स्थानीय निकायले स्थापना गरेका क्वारेनटाइनहरु व्यवस्थित रुपमा संचालन नभएपछि संक्रमितहरु घरमै बस्न थालेका छन्।

सुनसरीका धरान, इटहरी र इनरुवा क्षेत्रमा होम आइसोलेसनमा बसेका संक्रमितहरु खुलेआम हिड्ने गरेको स्थानियको भनाई छ। इनरुवाका संचारकर्मी राजेन्द्र पोखरेल संक्रमितहरु बजारमा गएर किनमेल गरिरहेको र मठमन्दिरमा गई सेल्फी खिचिरहेका दृष्यले कोरोनाको झन् जोखिम बढेको बताउँछन्। होम आइसोलेसनमा बसेका संक्रमितहरु खुलेआम हिडिरहेकाले जिल्लामा दैनिक संक्रमितहरुको संख्या वृद्धि भएको उनको भनाई छ।

त्यस्तै धरान र इटहरी क्षेत्रमा पनि संक्रमितहरु खुलेआम हिँडिरहेका छन्। कतिपय संक्रमितहरु सवारी साधनमा समेत हिड्न थालेपछि सुनसरी कोरोनाको हब बनेको छ। खुल्लारुपमा मोटरसाइकलमा संक्रमित हिँड्न थालेपछि बाटोमा हुने ट्राफिक चेकमा यसको संक्रमण अन्यलाई फैलन त्रास बढेको छ। धरानमा होम क्वारेनटाइनमा बसेका जनप्रतिनिधि र रेडक्रसकर्मीसमेत खुलेआम हिँडिरहेको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं