Lite Nepal

शुक्रबार, कार्तिक २१, २०७७

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षबाट सौराहा स्थानान्तरण गरिएका हात्ती र अर्नाको सट्टामा प्रदेश १ सरकारले दुई वटा गैंडा माग्दा समेत चितवन राष्ट्रिय निकुञ्जले दिन आनाकानी गरेको छ ।

प्रदेश १ सरकारले बारम्बार ताकेता गर्दा समेत हात्ती र अर्नाको साटो गैंडा वा लगेको हात्ती पनि नफर्काएको आरोप प्रदेश सरकारको छ ।

अर्ना र चराचुरुङ्गीहरुका कारण प्रख्यात सुनसरीमा रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा प्रदेश सरकारले पहिलोपटक गैंडा राख्न चाहेको र हात्तीको साथ १३ वटा अर्ना लैजादा चितवनले गैंडा दिने बताए पनि हाल सम्म सर्त पुरा नगरेको प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री जगदिश कुशियतले बताए ।

‘हामीले हात्तीको साटो गैंडा मागेका हौँ, तर, दिइएको छैन,’ उनले भने ‘आरक्ष संघिय सरकार मातहत रहे पनि यो क्षेत्र प्रदेश १ मा रहेकाले हाम्रो पनि दायित्व रहेकाले पर्यटकका लागि हात्ती वा गैडानै मागेका छौं ।’

कोशी टप्पु आरक्षमा हात्तीसार (हात्ती बस्ने घर) सानो भएपछि ५ हात्ती एक वर्षअघि नै सौराहा लगिएको हो । हाल कोशी टप्पुमा ५ माउ हात्ती र तिनका २ छावा छन् । चितवनले हात्ती सँगै १३ वटा अर्ना पनि लगेको थियो । त्यसको साटोमा दुई वटा गैंडा दिने सो समयमा सहमती भएको मन्त्री कुशियत बताउँछन् ।

पहिले हात्ती सफारी हुने कोशी टप्पुमा अहिले त्यो हात्ती छैन । आरक्ष क्षेत्र घुमाउन आरक्षले माउतेकोको साथमा हात्ती पालेको हो । कोशी टप्पुमा १० वटा माउ हात्तीको दरबन्दी रहेकामा यहाँबाट ५ माउ हात्ती सौरहा लगिएको थियो । बाँकी हात्ती पनि सफारी गराउन छाडेपछि हात्तीसार सुनसान छ ।

मुख्य हात्ती सौराहा लगेपछि कोशीमा हात्ती सफारी नहुँदा हात्ती सफारीका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक घटकाले पर्यटकलाई कसरी तान्ने भन्ने चुनौंती प्रदेश सरकार सामु आएको मन्त्री कुशियत बताउँछन् । ‘हात्ती फर्काउनसमेत समस्या छ, यद्यपि, हात्तीको सट्टा गैंडा नै ल्याए पनि पर्यटन प्रवर्द्धनमा राम्रो हुने भएकाले हामी अझै प्रयास गरिरहेका छौँ,’ उनले भने ।

अहिले उदयपुरको वेलका नगरपालिका क्षेत्रमा हात्तीसार बनाउने योजना भइरहेको छ । बेलका–१, भागलपुरमा हात्तीसार बनाएर सौराहा पुर्याइएको दरबन्दीसमेत त्यहाँ राख्ने तयारी भए पनि हात्तीसार निर्माणको काम नहुँदा गएका हात्ती फर्काउने संभावना कम छ ।

कोशी टप्पु गैडाको लागि उपयुक्त छैन : विभाग

प्रदेश १ सरकारले गैंडा नदिएर चितवनले सहमती पालना नगरेको आरोप लगाईरहँदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने कोशी टप्पु वन्यजन्तु आरक्ष गैंडाका लागि उपयुक्त बासस्थान नभएको जनाएको छ ।

गैंडा बस्नका लागि सुरक्षित र पर्याप्त बासस्थान नभएकाले यती क्षेत्रफलमानै गैंडा कोशी टप्पु आरक्षमा पठाउन नसकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बताए ।

‘गैंडाको लागी उपयुक्त केही स्थान कोशी टप्पु भए पनि सानु क्षेत्र भयो, त्यसम पनि अतिक्रमण बढ्दो अवस्थामा रहेकाले गैंडाको लागी त्यो क्षेत्र सुरक्षित छैन,’ आचार्यले भने ‘यो अवस्थामा त्यहाँ गैंडा पठाउनु भनेको गैंडा मार्नु सरह हुनेछ ।’

गैंडा बस्न दलदल भएको स्थान, पर्याप्त खानेकुरा र दौडनका लागी बगरको ठुलो क्षेत्र चाहीने भएकाले त्यस्तो क्षेत्र कोशी टप्पुमा सानु रहेको विभागको भनाई छ । कोशी टप्पु वन्यजन्तु आरक्षको क्षेत्रफल बढाएमा मात्रै प्रदेश सरकारले मागेको गैंडा पठाउन सकिने विभागले स्पष्ठ पारेको छ ।

२०३२ सालमा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष कोसी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्षको अधिकांश भूभाग प्रदेश १ मै पर्छ । क्षेत्रफलका आधारमा सानो भए पनि नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा यो परिचित छ । आरक्ष सन् १९८७ मा रामसार सूचीमा सूचीकृत भएको थियो ।

कोशी नदीको केही भागसमेत समेटेर १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष मुलुकको सबैभन्दा सानो क्षेत्रफल भएको आरक्ष हो । आरक्ष क्षेत्रमा अर्ना र दुर्लभ चराको बसोबास छ । पछिल्लो समय यो आरक्षको क्षेत्रमा आसपासका स्थानीयले अतिक्रमण गरेर माछा मार्ने र हाटल बनाउने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा