विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक प्रमिला कार्की यतिबेला सामाजिक सञ्जालमा चर्चामा छिन्।
विराटनगरमा सम्पन्न ऐतिहासिक ५९औँ राधाकृष्ण रथयात्रा–२०८३ का क्रममा रथमा सवार भएर भक्तजनलाई प्रसाद वितरण गर्दै गरेको उनको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको हो। टिकटक, फेसबुक रिल्स, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा उनको भिडियो तथा तस्बिरलाई प्रयोगकर्ताहरूले रुचाएका छन्।

रथयात्राको सुरक्षा व्यवस्थापनमा खटिएकी प्रहरी निरीक्षक कार्कीले कर्तव्य निर्वाहसँगै भक्तजनहरूसँग आत्मीय रूपमा प्रस्तुत हुँदै रथमा सवार भएर प्रसाद वितरण गरेकी थिइन्। उनको यही सरल र आत्मीय व्यवहारले धेरैको ध्यान तानेको देखिन्छ।
सुरक्षा व्यवस्थापनमा सक्रिय रूपमा खटिएकी कार्की प्रसाद वितरण गर्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको चर्चा थप चुलिएको हो। कर्तव्यसँगै मानवीय संवेदना र आत्मीयता प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको प्रशंसा गरेका छन्।