Lite Nepal

शनिबार, आषाढ ०४, २०७९

झापा – तीन दिने भ्रमणका लागि नेपाल आएका युएईका राजकुमार जुमा अल मोक्तुमले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएको समाचार धेरै अनलाइनहरूले लेखे।

उक्त समाचार मिडियामा आएपछि ‘साँच्चै सुनकै लौरो होरु’ भनेर जिज्ञासा राख्दा बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले ‘हामी त भूँडी मिचेर हाँसिरहेका छौँ’ भनेर जवाफ दिए।

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत चन्द्रगढी विमानस्थल अवतरण गरेका राजकुमार जुमाले दुर्गा प्रसाईंलाई विमानस्थलमै सुनजस्तै पहेंलो लौरो उपहार दिएका थिए।

गिरीले भने, ‘उपहार हो। उहाँहरू कतै जाँदा आफ्ना हितैसीलाई उपहार दिने चलन रहेछ। त्यसैले त्यो पहेंलो लौरो राजकुमारले दुर्गा सरलाई उपहार दिनुभएको हो।’ पहेंलो सुनजस्तै देखिने भए पनि त्यो लौरो सुनको नभएको गिरीको भनाइ छ। उनले भने, ‘त्यो लौरो प्लाटिनम कोटेड हो। मूर्तिमा लगाइने पहेंलो सुनजस्तै देखिने धातुले बनेको हो।’

सुनको लौरो भनेर मिडियामा आएपछि आफू ‘तीनछक’ परेको गिरीले प्रतिक्रिया दिए। उनले भने, ‘देशमा कानुन छ। अध्यागमन विभाग छ। भन्सार कार्यालय छ। कहीँ कतै नसोधी अप्रमाणित कुरा लेखेको देखेर हामी छक्क परिरहेका छौं।’

राजकुमार जुमा अहिले झापामा छन्। आइतबार उनले दुर्गा प्रसाईंले स्थापना गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा जडित पेट सिटीस्क्यान मेसिनको उद्घाटन गर्दैछन्। देशसञ्चारबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं