Lite Nepal

बिहिबार, चैत्र १६, २०७९

काठमाडौं – घर भारतको आसाम सरचिप मेजोरम। उमेर ५६ वर्ष। अनुहार र शरीरमा जलेर निको हुँदै गरेको खतै खत। उपचार भने बारम्बार गरिरहनु पर्ने बाध्यता। घरमा रहेका दुई बालबालिका आफैंले पाल्नुपर्ने अवस्था। यस्तो अवस्थाकी भनल्वामी र अर्की एक महिला काठमाडौंमा पक्राउ परिन्, त्यो पनि ठूला परिमाणमा कोकिनसहित। प्रहरीले अनुसन्धान गर्दा पुष्टि भयो जलनको उपचार खर्च जुटाउन कोकिन तस्करीमा संलग्न भएको।

भनल्वामी सँगै पक्राउ परेकी अर्की महिला हुन् सोही ठेगानाकी २९ वर्षीया ईस्थर ललिम्पुई। दुवै जनालाई प्रहरीले गत फागुन १४ गते फरक-फरक समयमा काठमाडौंबाट पक्राउ गरेको हो।

दुई जनाको साथबाट १७ करोड बराबरको कोकिन बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ। ब्यूरोका सूचना अधिकारी चक्रराज जोशीले भने, ‘राम्रो पैसा पाउने लोभमा दुई महिला लागूऔषधको तस्करीमा फसेको पाइयो। उनीहरूले अफ्रिकी मुलुकबाट नेपाल हुँदै भारत लैजान लागेको खुलेको छ।’

पक्राउ परेका मध्येकी ५६ वर्षीया भनल्वामीको साथबाट २ किलो ८८७ ग्राम र ईस्थरको साथबाट ७ किलो ८८७ ग्राम कोकिन बरामद भएको छ। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर भारतको दिल्ली जाने तयारी गरिरहेको समयमा पक्राउ गरेको ब्युरोका एसएसपी विकाश राज खनालले बताए।

उनका अनुसार उक्त कोकिन उनीहरूले अफ्रिकाको गिनी र बेनिनबाट ल्याएका हुन्। ‘उनीहरूको योजना भारत लैजाने थियो। विभिन्न विमानस्थल पार गर्दै नेपालसम्म ल्याए। यहाँबाट भने उनीहरू फुत्किन पाएनन्,’ एसएसपी खनालले भने।

पक्राउ परेको दुवै जना र बरामद भएको कोकिन बिहीबार पत्रकार सम्मेलन गर्दै लागूऔषध नियन्त्रण ब्यूरोले सार्वजनिक गरेको छ। ‘हामीले उनीहरूलाई पक्राउ गरेपछि तिनिहरूसँग जोडिएका अन्य तस्करीमा संलग्नलाई पनि पक्राउ गर्न अनुसन्धान गरेकाले अनुसन्धान पुरा भएपछि मात्रै आज (बिहीबार) सार्वजनिक गरेका हौं,’ एसएसपी खनालले भने, ‘यो घटनासँग जोडिएको अन्य अनुसन्धान बाँकी नै छ।’

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार भनल्वामी खाना पकाउने ग्यास विस्फोट हुँदा घाइते भएकी थिइन्। डिभोर्सीका दुई जना बच्चा छन्। कोकिन कारोबारीले उनलाई अफ्रिका गएर भनेको सामान ल्याए जलनको उपचार खर्च दिने प्रलोभन देखाएका थिए।

त्यसपछि भनल्वामी चैत २ मा इथियोपिया हुँदै अफ्रिका गएकी थिइन्। अफ्रिकाको गिनीबाट कोकिन लिएर उनी मोरक्को र कतारको दोहा हुँदै काठमाडौं आएको अनुन्धानमा खुलेको छ।

ठमेलस्थित एक होटलमा बसेर चैत १४ मा इन्डिगो एयरलाइन्स मार्फत दिल्ली उड्न लागेको अवस्थामा उनी पक्राउ परेकी हुन्। प्रहरीसँग उनले बयान दिने क्रममा भनेकी थिइन्, ‘पैसा खाँचो भएर अफ्रिका गएँ। उपचार खर्च जुटाउनु र बालबच्चा पाल्ने जिम्मेवारीले फसेँ।’

पक्राउ परेकी अर्की महिला ईस्थर ललिम्पुई कपडा पसलमा काम गर्थिन्। कोकिन कारोबारीले उनलाई पश्चिम अफ्रिकन मुलुक बेनिनमा पुगेर सामान ल्याए १ लाख भारतीय रुपैयाँ दिने प्रस्ताव गरेकाले उनी पनि पैसाको लोभमा फसेको प्रहरीले जनाएको छ।

तस्करमा संलग्नको प्रस्ताव मानेर उनी चैत ८ मा भारतबाट बेनिन गएकी थिइन्। बेनिनबाट मोरक्को र कतारको दोहा हुँदै उनी पनि काठमाडौं आएकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिन लिएर ठमेल पुगेपछि उनलाई ब्युरोको टोलीले पक्राउ गरेको हो।

एसएसपी खनालका अनुसार बरामद भएको कोकिनको बजार मूल्य १७ करोड ३ लाख ५९ हजारसम्म पर्ने अनुमान गरिएको छ। दोहाबाट जाने विमानका यात्रुलाई दिल्लीमा विशेष निगरानी हुने भएकाले नेपालको बाटो हुँदै भारतमा कोकिन तस्करी हुने गरेको प्रहरीको दाबी छ।

‘नेपालबाट भारतीय मुलकै नागरिक दिल्ली जाँदा तीर्थयात्रा गएर आएका हुनसक्ने भन्दा धेरै निगरानी नहुने भएकाले नेपालको बाटो प्रयोग गरेको पाइयो। त्यसमा पनि भारतीय नागरिकलाई नै भरिया बनाएर प्रयोग गर्ने गिरोह रहेको हाम्रो अनुसन्धानले देखाएको छ,’ एसएसपी खनालले भने, ‘यी पक्राउ परेका दुई महिला पनि त्यसरी नै नेपाल सम्म आइपुगेको खुलेको छ।’

उनका अनुसार पक्राउ परेका महिलाहरू यस अघि पनि नेपाल आएको खुलेको छ। उनीहरूले पक्राउ पर्नु अघिसम्म प्रहरीलाई घुम्न आएको बताएका थिए।

प्रहरीका अनुसार कानुनत १ सय ग्रामभन्दा धेरै कोकिन कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म हुने व्यवस्था छ। पक्राउ परेका उनीहरूलाई २५ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा