Lite Nepal

शुक्रबार, बैशाख २२, २०८०

काठमाडाैं – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइप्रोफाइलकै संलग्नता खुलेसँगै राजनीतिक वृत्तमा हलचल उत्पन्न भएको छ । विशेषगरी प्रमुख प्रतिपक्षी दल एमालेका सचिव टोपबहादुर रायमाझीको नाम मुछिएर पक्राउ पुर्जी जारी भएसँगै सो पार्टीले विशेष चासो राखेको छ ।

यस्तै एमालेकै उपाध्यक्ष रामबहादुर थापाको परिवार, उनका सुरक्षा सल्लाहकार र बहालवाला सचिव समेत यो प्रकरणमा मुछिएका छन् । आफ्ना पार्टीका पदाधिकारीलाई जोगाउने उद्देश्यका साथ एमालेका अध्यक्ष केपी शर्मा ओलीले दौडधुप थालिसकेका छन् । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनले पक्राउ नगर्न दवाव दिएको बालुवाटार स्रोतको भनाइ छ । तर, प्रचण्डले ओलीलाई सकारात्मक जवाफ दिएका थिएनन् ।

प्रचण्डलाई भेटेपछि ओलीले आफ्ना सचिवलाई षड्यन्त्रपूर्ण फसाइएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चार वर्षअगाडि चेक काटिएको घटनामा सांसद र उपप्रधानमन्त्री भइसकेको नेतालाई षडयन्त्रपूर्वक समाइएको बताएका हुन् ।

‘चार वर्षअगाडि नै चेक काटेको छ । त्यो चेक पनि उसैसँग रहेको भन्ने छ,’ ओलीले भने, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

ओलीले निर्दोषलाई फसाउन खोजिएको हुन सक्नै भन्दै मान्य नहुने चेतावनी पनि दिएका छन् । ‘तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दैछौं,’ ओलीले भने । उनले निर्दोषलाई फसाइए आफूहरूले नसहने बताए ।

‘निर्दोष पर्नु हुन्न, दोषी उम्कनु पनि हुन्न । निर्दोष फसाउन खोजे हामी सहँदैनौं । बाटोमा हिँड्दै गर्दा समाउनु रहस्यपूर्ण छ । मैले हिजो बेलुका कुरा गरेको थिएँ, पक्राउ पुर्जी जारी गरेको भन्ने सुन्छु, तपाईंलाई जानकारी छ भनेर सोध्दा उहाँले आईजीपीसँग कुरा गरें, कुरा के हो प्रस्ट पार्न आइदिनुस् भनेका छन् भन्नुभयो । अहिले समात्यो भन्या सुन्छु, फरार भनेको पनि सुन्छु, के हो थाहा छैन,’ ओलीले भने । ओलीले भेटमा प्रधानमन्त्रीलाई यस विषयमा जानकारी गराएको पनि बताएका छन् ।

००००
एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । नक्कली शरणार्थी प्रकरणमा छानबिनका लागि हिरासतमा राख्न जिल्ला अदालतले बिहीवार अनुमति दिएको हो ।

००००
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिए।

उक्त मुद्दा जिल्ला प्रहरी परिसरले हेरिरहेको छ। विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म १०६ जनाले २० वटा उजुरी दिएका छन्।
उनीहरूले कूल २३ करोड २५ लाख ठगी भएको उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। यद्यपि, योभन्दा धेरै संख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आई नसकेको उनको भनाइ छ। हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

००००
कुनै बेला प्रहरी महानिरीक्षकको काँधमा फुली लगाइदिएका नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गर्नु प्रहरीका लागि त्यति सजिलो विषय थिएन ।
संसद्को दोस्रो ठूलो दलका सचिव एवं बहालवाला सांसद टोपबहादुर रायमाझीलगायत पहुँचवाला व्यक्तिका विरुद्ध पक्राउ पुर्जीको अनुमति माग्दै अदालत पुग्नु पनि प्रहरीका लागि उत्तिकै चुनौतीको विषय थियो ।
तर, प्रहरीले बुधवार एकपछि अर्को भीआईपीलाई पक्राउ गर्यो, पक्राउ पुर्जी लियो । यो काममा सघाउन प्रहरीका पछाडि सतिसालझैँ उभिएका थिए गृहमन्त्री– नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ।
पार्टीको प्रभावशाली पदाधिकारी एवं बहालवाला सांसद र सरकारको बहालवाला सचिव पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्री श्रेष्ठलाई संकेत र्गयो ।

ठूला व्यक्तिलाई पक्राउ गर्नुअघि प्रहरीले गृहमन्त्रीसँग परामर्श गर्ने प्रहरीको यसअघिदेखिकै परम्परा हो । गृहमन्त्रीको स्पष्ट अडानविना प्रहरी यो खालको जोखिम मोल्न तयार हुँदैन ।
गृहमन्त्री श्रेष्ठले ‘गो अहेड’ भन्ने संकेत गरेपछि प्रहरी बहालवाला सांसदसहित भीआइपीलाई पक्राउ गर्न प्रहरी तयार भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा