Lite Nepal

शुक्रबार, बैशाख २२, २०८०

काठमाडौं— सम्पर्कविहीन सांसद टोपबहादुर रायमाझी आइतबार प्रहरी समक्ष उपस्थित हुने भएका छन् ।

नेकपा एमाले सचिवसमेत रहेका नेता रायमाझी आइतबार आफै प्रहरीसमक्ष उपस्थित हुनेछन् । ‘यो प्रकरणमा कानुनअनुसार जे व्यवस्था छ त्यहीअनुसार प्रक्रिया अगाडि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता छ । उहाँ आफै प्रहरीकहाँ उपस्थित हुने भन्ने छ । हामीलाई सूचना भएसम्म आइतबार उहाँ आफै उपस्थित हुनुहुन्छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार शुक्रबार र शनिबार बिदा भएकाले उनी आइतबार आफै प्रहरीसमक्ष उपस्थित हुने तयारी गरेका हुन् । गत बुधबार नेता रायमाझीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यतिबेला उनी गृहजिल्ला अर्घाखाँची मै थिए ।

पक्राउ पुर्जी जारी भएपछि नेता रायमाझी बिहीबार काठमाडौंतर्फ लागे । तर, अहिले सम्पर्कविहीन छन् । प्रहरी उच्च स्रोतकाअनुसार उनको फोन कपिलवस्तुसम्म अन थियो । त्यसपछि एकाएक अफ् भयो । काठमाडौं आउन उनले जहाज टिकटसमेत लिइसकेका थिए । उनी भैरहवाबाट जहाजमा काठमाडौं आउने तयारीमा थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव नै मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । अध्यक्ष ओलीले रायमाझीलाई फसाउन खोजेको संकेतसमेत गरेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर रकम असुल गरेको आरोप उनीमाथि लागेको छ । सांसद रायमाझीका छोरा सन्दीपलाई समेत प्रहरीले बुधबार बुटवलबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा संलग्न देखिएको भन्दै प्रहरीले बुधबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो । पाण्डे गृहसचिव रहेका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ असुलेको घटनामा संलग्न देखिएको प्रहरीको दाबी छ । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।

यस प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले गत मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।

गत चैत दोस्रो साता नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य भन्दै प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो ।

उनीहरूकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो भने सांसद रायमाझीलाई प्रहरीले खोजिरहेको छ ।

के हो नक्कली भुटानी शरणार्थी प्रकरण ?

गृह मन्त्रालयले जेठ २०७६ मा भुटानी शरणार्थीको समस्या समाधान गर्न मन्त्रालयका पूर्व-सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । विज्ञ सदस्यका रूपमा कार्यदलमा गणेशबहादुर केसी र सदस्य–सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने पनि थिए ।

उक्त कार्यदलले भुटानी शरणार्थी समस्याको स्थायी समाधान गर्न भन्दै विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार समेत पारेको थियो । तर, कार्यदलले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक भएको छैन ।

कार्यदलले तयार पारेको प्रतिवेदनमा गृह मन्त्रालयको तत्कालीन प्रशासनिक नेतृत्व र मन्त्रीको सचिवालयसँगको मिलेमतोमा मानव तस्करको एउटा गिरोहले नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ रकम उठाएको तथ्य खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको थियो ।

१३ चैत २०७९ मा देवेन्द्र भट्टराईले लेखेको खोपकेको स्टोरीमा प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनः स्थापना चाहने’ अनुसूची थप गरेर ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै करोडौं रकम असुल गरेको भेटिएको उल्लेख छ ।

प्रतिवेदनमा पछि दुइटा अनुसूची थपेर ८७५ नेपाली नागरिकको नाम समेटिएको थियो । सरकारी संयन्त्रसँग निकट सम्पर्कमा रहेको गिरोहले प्रतिवेदनमा भुटानी शरणार्थीका रुपमा नाम समावेश गरेर नेपाली नागरिकबाट जनही १० लाख देखि ५० लाख रुपैयाँसम्म उठाएको र, रकम उठाइसकेपछि नक्कली शरणार्थी परिचय–पत्र वितरण पनि गरिएको थियो । – न्यूजगृह

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा