Lite Nepal

शनिबार, आषाढ ०२, २०८०

काठमाडौं – झन्डै पाँच घण्टासम्म इजलासमा बस्दा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित नक्कली शरणार्थी प्रकरणमा समातिएका १८ अभियुक्तलाई छटपटी थियो। बहस सकिएपछि आदेश नआउन्जेलसम्म सबै अभियुक्त बेचैन देखिन्थे। दुई जनालाई मात्र धरौटीमा छोड्ने र बाँकी १६ लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएपछि उनीहरूको अनुहारको रंग नै उड्यो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले दुई साता लामो बहसपछि उक्त आदेश दिएको हो। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा तानिएका लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको छ।

झन्डै दुई महिना लामो अनुसन्धानपछि गजेन्द्र बुढाथोकीको जाहेरीले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको मुद्दा जिल्ला अदालतमा दायर गरिएको थियो। १० जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। त्यसपछिको बहसका क्रममा इजलासमा उपस्थित हुँदा अभियुक्तहरू बिचलित देखिएका थिए। शुक्रबार अदालतले कारागार चलान गरेपछि खिन्न भएका थिए।

अदालतको आदेशपछि पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा चलान भएका छन्। योजनाकार केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्वसभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मिया र हरिभक्त महर्जन पनि थुनामा कारागार चलान भएका छन्।

एक्लिएका रायमाझी

कारागार चलान हुनुअघि इजलासमा बस्दा पूर्वउपप्रधानमन्त्री रायमाझी धैर्य थिएनन्। उनीले नजिकै रहेका तत्कालीन गृहसचिव पाण्डेसँग केहीबेर कुराकानी गरेका थिए। आफूसँग कुराकानी गर्नेहरूसँग आफ्नो राजनीतिक करिअर समाप्त भएकोमा चिन्ता व्यक्त गरेका थिए।

पुर्पक्षका लागि कारागार पठाउने आदेशसँगै रायमाझी सांसदबाट पनि निलम्बित भएका छन्। प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा निलम्बनमा पर्ने कानुनी प्रावधान छ।

रायमाझीलाई सानु भण्डारीले एक करोड ६० लाख नगद दिएको बयान दिएका थिए। रायमाझीको छोरा सन्दीपलाई ४० लाख बैंकिङ प्रणालीबाट दिएको समेत भण्डारीले उल्लेख गरेका थिए। भण्डारीको घरबाट बरामत भएको डायरीमा पनि रायमाझीलाई विभिन्न मितिमा रकम दिएको उल्लेख छ।

टंककुमार गुरुङको रेस्टुरेन्टमा रायमाझी, उनका पिए लीला जीसी, केशवप्रसद दुलाल, सानु भण्डारी र भेषराज शर्मासमेत घन्टौं मिटिङ गर्ने गरेका थिए। बानेश्वरको एभरेस्ट होटलमा रायमाझीले टेन्सन नलिनु तपाईंहरूको काम पक्का हुन्छ भनेको र संसद् विघटनपछि सरकार परिवर्तन भएकाले अब हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भन्ने उल्लेख गरेको आदेशमा जनाइएको छ। सहप्रतिवादीहरू सानु भण्डारी, केशबप्रसाद दुलाल र टेकनाथ रिजालको बयानबाट समेत रायमाझीको कसुरमा संलग्नता देखिएको आदेशमा उल्लेख छ।

खाँणको पुनरावेदन अपेक्षा

कारागार चलान भएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण शुक्रबार दिनभर जसो तनावमा देखिएका थिए। अदालतको आदेशपछि प्रहरीले कारागारतर्फ लैजाने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको बताए। ‘घटनामा संलग्न थिइन्। निर्दोष थिएँ,’ कारागार जाने क्रममा पूर्वगृहमन्त्री खाँणले भने, ‘सबैलाई धन्यवाद छ। अब न्याय होला।’ थुनछेक आदेशप्रति असन्तुष्ट खाँणले उच्च अदालतमा पुनरावेदन गर्ने संकेत गरे।

गृहमन्त्री रहेको बेला खाँणले बालकृष्ण पन्थी संयोजक रहेको कार्यदल गठन गराएका थिए। सो कार्यदलको अवधि व्यतित भएपछि खाँणले नै दुई महिनाको म्याद थप गरेको अदालतको आदेशमा उल्लेख छ। खाँण गृहमन्त्री रहेका बखत मन्त्रिपरिषद्बाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्को नक्कली समानान्तर प्रतिवेदन गृह मन्त्रालयमा तयार भएको थियो।

अभियुक्त केशव दुलालले गृहमन्त्री हाम्रै मान्छे हुन्, गृहमन्त्री र गृहसचिवसँग कुरा भइरहेको छ। अब रकम फिर्ता गर्ने होइन, अमेरिका जाने हो भन्ने उल्लेख गरेका थिए। दुलाल र सचिव टेकनारायण पाण्डेका बीचको सम्वाद र पाण्डेको मौकाको बयान समेतबाट खाँणको कसुरमा संलग्नता रहेको जिल्ला अदालतको आदेशमा उल्लेख छ।

स्तब्ध टेकनारायण पाण्डे

तत्कालीन गृहसचिव पाण्डे पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएलगत्तै स्तब्ध देखिए। उनले सचिवस्तरीय निर्णय पुनः छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गरेका थिए। शरणार्थीको दर्ता प्रक्रिया र पुनस्र्थापना गराउने कार्य ३१ डिसेम्बर २०१६ मा बन्द भएको थियो। यूएनएचसीआर जोइन्ट भेरिफिकेसन टिमले भेरीफाई गरेका ४ सय २९ जनाको नाम विवादित रहेको भन्ने उल्लेख गर्दा पाण्डेले सचिवस्तरीय निर्णय गरेको आदेशमा उल्लेख छ। म्याद थप भएपछि थप कार्यादेश दिएको भन्ने देखिएको छ। मन्त्रिपरिषद्बाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्कै नक्कली समानान्तर प्रतिवेदन पाण्डे गृहसचिव भएकै बेला तयार भएको देखिएको छ।

प्रतिवेदनका सन्दर्भमा पनि पाण्डेको अस्वाभाविक चासो रहेको र ४ ÷५ दिनसम्म प्रतिवेदन राखेको भन्ने तत्कालीन सम्बन्धित फाँटमा कार्यरत सन्तोष प्रधानले कागज गरेका थिए। पाण्डेको अस्वाभाविक चासो रहेको गृह मन्त्रालयका तत्कालीन सहसचिव फणिन्द्रमणि पोखरेल, सागरमणि पाठकको कागजबाट देखिएको आदेशमा उल्लेख छ। जाहेरी व्यहोरामा केशवप्रसाद दुलालले टेकनारायण पाण्डेलाई फोन गरी फोन हयान्ड्स फ्रिमा राख्दा पाण्डेले जसरी भए पनि काम गरिदिन्छु भनेको भन्ने उल्लेख गरेका थिए। दुलाल र पाण्डेबीच भएका संवाद समेतबाट आरोपित कसुरमा उनको संलग्नता रहेको भन्ने देखिएको अदालतको आदेशमा उल्लेख छ।

वृद्धावस्थामा टेकनाथको कारागार यात्रा

७६ वर्षीय भुटानी शरणार्थी नेता टेकनाथ रिजाल वृद्धावस्थामा कारागार चलान भएपछि दुःखित देखिन्थे। ‘यो मुलुकले मलाई के गर्छ ?’ जिल्ला अदालतको आदेश आउनु अघि कानुन व्यवसायीसँग यहीँ जिज्ञाशा राखेका रिजाल कारागार चलानको आदेशपछि निराश देखिएका थिए।

रिजालले सहप्रतिवादी रामशरण केसीलाई अब नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने कार्य हुन्छ भनी विश्वास दिलाएको देखिएको आदेशमा उल्लेख छ। ३४ जना नेपालीलाई भुटानी शरणार्थीको कार्ड (परिचयपत्र) भुटान ह्युमन राईट्स अर्गनाइजेसनको मेम्बरसिप कार्डमा हस्ताक्षर गरेको भन्ने सहप्रतिवादी रामशरण केसीले बयान गरेका थिए।

केही परिचयपत्रमा सही गरेको तथ्य रिजालले नै स्वीकार गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ। सहप्रतिवादी केसीले रिजाललाई ११ लाख झापास्थित घरमा बुझाएको भनी मौकाको बयानमा समेत उल्लेख गरेको जनाइएको छ। सो बयानलाई सानु भण्डारीबाट बरामद भएको डायरीमा उल्लेखित व्यहोराले पुष्टि गरेको देखिँदा रिजाल पनि कसुरमा संलग्नता रहेको देखिएको अदालतको थुनछेक आदेशमा उल्लेख छ।

मलाई सोह्रै आना अन्याय भयो: मियाँ

कारागार चलान हुनुअघि शमशेर मियाँले आफूलाई अन्याय भएको गुनासो गरे। ‘म माथि सोह्रै आना अन्याय भएको छ,’ उनले भने। खाँण र मियाँबाहेक अन्य भने सार्वजनिक रूपमा बोलेनन्।

मियाँले नेपाल सरकारले उपलब्ध गराएको बा १ झ १५८१ नम्बरको सरकारी गाडी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई दिएको पाइएको छ। सो गाडीमा २०७६ जेठ २७ र २८ गते चितवनको सौरहाको भिजन होटलबाट जाहेरवालाहरूको बायोमेट्रिक गरी उठाएको ठूलो रकम सोही गाडीमा राखी काठमाडौं ल्याएको भन्ने झपडबहादुर खत्रीको कागजबाट देखिएको थियो। उक्त गाडी एक दिन मात्र नदिएर सात दिनसम्मभन्दा बढी समयसम्म प्रयोग गर्दा दिई सरकारी सुबिधाको गाडीको चरम दुरुपयोग गरी आरोपित कसुरमा सहयोग गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ।

निन्याउरा नरेन्द्र केसी

तत्कालीन गृहमन्त्री खाँणका स्वीकीय सचिव हुन्, नरेन्द्र केसी। खाँण र केसीबाट बरामद भएको कागजमा उल्लेखित लिखतको व्यहोरा, केशव दुलाल र टेकनारायण पाण्डेको बीचमा भएको संवादमा नरेन्द्रजीले पनि आशा गर्लान, ५ दिँदा हुन्छ भनी केशव दुलालले सोधकोमा पाण्डेले हुन्छ भनि जवाफ दिएको प्रमाण पेस भएको थियो।

त्यस्तै आङटावा शेर्पाले घटना विवरण कागज गर्दा केसीले मेरा घरमा आई पटक–पटक मलाई दिएको नगर्दै रकम एक करोड सानु भण्डारीबाटै लिएको रकम फिर्ता गरेको हो। सो रकम नेपाली नागरिकहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी दिएको रकममध्येकै रकम हो भनि लेखाएको देखिन्छ। भण्डारीका दाजु राजुले अनुसन्धानका क्रममा गरेको कागजसमेतबाट नरेन्द्र केसीको कसुरमा संलग्नता रहेको आदेशमा उल्लेख छ।

बुवासँगै जेलतिर सन्दीप

​​​​​​​पूर्वउपप्रधानमन्त्रीका टोपबहादुरका छोरा हुन्, सन्दीप। सन्दीप लियोन ट्रेडर्स कम्पनीका सञ्चालकसमेत हुन्। सो कम्पनीमा सानु भण्डारी पार्टनरसीप नभएको भन्ने कम्पनीको रजिस्टारका कार्यालयबाट जवाफ प्राप्त भएको देखिएको छ। सानु भण्डारीले रायमाझीको बैंक खातामा एकपटक २० लाख जम्मा गरेको र अर्कोपटक २० लाख निजी खातामा जम्मा गरेको देखिएको छ। कम्पनीको कारोबारका सम्बन्धमा सानु भण्डारीले उक्त रकम जम्मा गरेको भन्ने तथ्य सानु भण्डारी स्वयंले बयानमा गरेका थिए। यसबाट सन्दीपको कसुरमा संलग्नता रहेको देखिएको आदेशमा उल्लेख छ।

डा. इन्द्रजित राई

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार हुन्, डा. इन्द्रजित राई। सानु भण्डारीको घरबाट बरामद भएको डायरीको पानामा डा. इन्द्रजित र उनका छोरा निरजको २०७६ असार २ गतेदेखि २६ गतेसम्म तीनपटक (भुटानी शरणार्थीका लागि खर्च भएको विवरण) शीर्षकमा १ करोड ५० लाख नगद दिएको उल्लेख छ।

सानु भण्डारीले मौकाको बयानमा डा. इन्द्रजितलाई १ करोड ५० लाख नगद, त्रिपुरेश्वस्थित घरमा एक करोड र हिमालय होटलमा दुई करोड बुझाएको भन्ने उल्लेख गरेका छन्। सहप्रतिवादी टेकनाथ रिजाल र टोपबहादुर रायमाझीको बयानबाट समेत डा. इन्द्रजित कसुरमा संलग्नता रहेको देखिन आएको आदेशमा उल्लेख छ।

आङटावा शेर्पा

पोलिग्राफ जाँच हुँदा इन्कारी जवाफ दिएका शेर्पाको बयान झुटो पाइएको छ। लेनदेन, किटानी जाहेरी, सानु भण्डारीको डायरीमा लेखिएको हस्ताक्षर उनकै भएको परीक्षण प्रतिवेदनमा उल्लेख छ। मिसिल संलग्न प्रमाणबाट पनि कसुरमा संलग्नता देखिएको आदेशमा उललेख छ।

रामशरण केसी

रामशरण केसी यस प्रकरणमा योजनाकारका रूपमा देखिएका छन्। उनले केशवप्रसाद दुलाल र सानु भण्डारीसँग मिलेर नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान योजना गरेको आदेशमा जनाइएको छ।

उनी योजनाकार भएको टेकनाथ रिजालले बयानमा समेत उल्लेख गरेका छन्। उनले रकम लिएको तथ्य मिसिल संलग्न बैंक स्टेटमेन्टबाट देखिएकोले कसुरमा संलग्नता रहेको देखिएको आदेशमा जनाइएको छ।

केशवप्रसाद दुलाल

​​​​​​​सानु भण्डारीको घरबाट बरामद भएको डायरीमा रकम उठाएको, रकम सानु भण्डारीलाई दिएको, सरकारी निर्णयहरू, कागजात र विवरण प्राप्त गर्ने गरेको देखिएको छ। सचिव पाण्डेसँगको संवाद र विभिन्न किटानी जाहेरी समेतका आधारमा कसुरमा संलग्नता देखिएको आदेशमा उल्लेख छ।

सानु भण्डारी

सानु भण्डारीले निरज राई, टोपबहादुर रायमाझी, डा. इन्द्रजित राईलाई नगद दिएको देखिएको छ। विभिन्न रकमको आयव्यय उनको घरमा बरामद डायरीमा देखिएको छ। किटानी जाहेरी समेतका आधारमा उनी पनि कसुरमा संलग्नता देखिएको आदेशमा उल्लेख छ।

गोविन्द चौधरी

जाहेरवालाहरूलाई बैंकमा रकम जम्मा गर्न लगाएको र केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा खुलाएकाले कसुरमा संलग्नता रहेको देखिएको छ।

सागर राई

केशव दुलाल र सानु भण्डारीसँग रकम लेनदेन र किटानी जाहेरीका आधारमा कसुरमा संलग्नता रहेको देखिएको छ।

सन्देश शर्मा

रकम उठाउने, चितवनको सौरहा गएर बायोमेटिक गर्ने व्यक्तिबाट रकम बुझेको पाइएको छ। किटानी जाहेरी समेतबाट कसुरमा संलग्नता रहेको देखिएको आदेशमा उल्लेख छ।

दुई जनालाई धरौटी किन ?

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आदेश सुनाउन इजलासमा आएर संक्षिप्त रूपमा बोले, ‘लक्ष्मी महर्जनको हकमा ५ लाख र टंककुमार गुरुङको हकमा १० लाख धरौटीमा माग्ने आदेश भएको छ। बाँकीको हकमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश छ।’

न्यायाधीश न्यौपानेले आदेश सुनाए लगत्तै महर्जन र गुरुङको परिवारका सदस्यलाई रकम जम्मा गरी बुझाउन दौडादौड भयो। लक्ष्मीको नाममा जाहेरवाला गजेन्द्र बुढाथोकीले हिमालयन बैंकको खातामा रकम पठाएको आदेशमा उल्लेख छ। लक्ष्मीका पति हरिभक्तलाई पासवर्ड दिएको र हरिभक्तले खाताको रकम हस्तान्तरण गरेको देखिँदा लक्ष्मीको बैंक खाताको दुरुपयोग भई कसुरमा संलग्नता रहेको भन्ने देखिएको आदेशमा उल्लेख छ।

टंककुमार गुरुङ रेस्टुरेन्ट सञ्चालक हुन्। ललितपुरस्थित नर्वेजियन एम्बेसीको अगाडि रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए। रेस्टुरेन्टमा शमशेर मियाँले सरकारी सुबिधाबापत प्राप्त गरेको बा १ झ १५८१ नम्बरका गाडी चालक प्रेमकुमार गौतमले छाडेका थिए। सो गाडी बायोमेट्रिक प्रयोजनका लागि चितवनको सौराहा लगेको भन्ने झप्पडबहादुर खत्रीको कागजबाट देखिन्छ।

गुरुङ केशव दुलालका घरबेटीसमेत हुन्। घरबेटी भएकाले उनको रेष्टुरेन्टमा केशव दुलाललगायत अन्य व्यक्तिहरू जाने गरेकोसम्म देखिएको छ। गजेन्द्र बुढाथोकीको जाहेरी परेको र गुरुङको समेत मिलेमतोमा ठगी गर्ने कार्य गरी गृह मन्त्रालयको पत्रका आधारमा करोडौं रकम उठाइ नेपालीहरूलाई नक्कली भुटानी बनाई अमेरिका लैजाने कार्यमा संलग्नता रहेको भन्ने अभियोगपत्र छ। कसुरको प्रकृति र गम्भीरताका आधारमा दुई जनालाई धरौटी माग भएको छ। अन्नपूर्णबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा