Lite Nepal

शनिबार, मंसिर ०९, २०८०

पोखरा – भारतले अनुदानमा दिएको उन्नत जातको ७ वटा मुर्रा राँगो शुक्रबार राति पोखरा ल्याइपुर्‍याइएको छ । नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरा आइपुगेका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरामा राखिएको छ ।

भारतले दिएको १५ वटामध्ये ७ वटा पोखरा ल्याइएको हो । पोखरा आइपुगेका राँगालाई शुक्रबार राति नै फूलमालासहित ताली बजाएर कार्यालयमा स्वागत गरिएको थियो । पोखरा ल्याइएका राँगाको बिर्य संकलन गर्नुअगाडि क्वारेन्टिनमा राखिने प्रजनन कार्यालय पोखरा प्रमुख डा जगदीश पाण्डेयले जानकारी दिए ।

‘यहाँ ल्याइएका राँगालाई पहिलो चरणमा २१ दिन क्वारेन्टिनमा राखेर त्यसपछिमात्रै विर्य संकलनका लागि तयार हुनेछन्,’ उनले भने ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल-भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा बुधबार नेपाल भित्रिएका हुन् । नेपाल ल्याइएका उन्नत जातका मुर्रा राँगा पोखरासहित नेपालगञ्जमा ३ वटा र लहानमा ३ वटा राखिएको छ ।

भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नत मध्येको एक मानिन्छ । भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात दूध उत्पादन विकासका लागि सबैभन्दा राम्रो मानिन्छ ।

पोखरामा पहिल्यै थिए मुर्रा राँगो
कार्यालय प्रमुख पाण्डेयका अनुसार शुक्रबार राति आएका मुर्रा प्रजाति पोखराका लागि नयाँ भने होइनन् । यसअघि नै पोखरामा ९ वटा मुर्रा राँगा छन् ।

‘तर, सरकारी तवरबाटै पहल गरेर आएको पहिलो पटक हो,’ पाण्डेयले भने, ‘पहिले पहिले व्यक्तिगत वा संस्थागत रुपमा आग्रह गरेर ल्याइएका मुर्रा हुन् ।’

पाण्डेयका अनुसार हालै आएका मुर्रा राँगा भने अघिल्लाभन्दा पनि बढी उत्पादन क्षमताका हुन् । ‘पहिले हामीसँग भएका पनि मुर्रा नै हुन् । तर, ती अहिलेको भन्दा कम उत्पादन क्षमताका हुन् । अहिलेको ३ हजारदेखि ४५ सय लिटरसम्म दूध दिने क्षमताका मुर्रा सन्तान हुन् ।’

यसअघि पनि यही उन्नत जातको मुर्रा पोखरा ल्याउन पटकपटक प्रयास गर्दा पनि असफल भएको पाण्डेयको दाबी छ । उनले पटकपटक टेन्डर गर्दा पनि रद्द भएको र नेपाल सरकारबाटै पहल भए पछि बल्ल प्राप्त गर्न सकेको बताए । ‘हामी आफैं इन्डिया गएर प्राविधिक चेकजाँच गरेका छौं । यसपटक भने सफल भयौं,’ उनले भने ।

केही समयअघि पोखरामा कोरियन उन्नत जातका साँढे पोखरा ल्याइएको थियो । कोरियाबाट ल्याइएका उन्नत जातका १५ वटा गाईमा ६ वटा बाच्छा छन् भने ९ वटा बाच्छी छन् । तिनीहरु हुर्किँदैछन्,’ पाण्डेयले भने ।

कार्यालयका अनुसार हाल राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा ६० वटा उन्नत जातका राँगा तथा साँढे छन् । तर, ती सबै उत्पादनका लागि तयार भइसकेका छैनन् । ‘धेरै त साना छन्, तिनीहरु हुर्किनै समय लाग्छ । विस्तारै तिनीहरु पनि विर्य संकलनका लागि तयार हुँदैछन्,’ डा पाण्डेयले भने ।

पोखरामा वार्षिक २० हजारभन्दा बढी हुन्छ कृत्रिम गर्भाधान
हाल नेपालका ७० जिल्लामा कृत्रिम पशु गर्भाधान सेवा उपलब्ध हुँदै आएको छ । ती जिल्लाबाट वार्षिक करिब ९ लाख संख्यामा कृत्रिम गर्भाधान हुँदै आएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय, पोखरा प्रमुख डा पाण्डेयका अनुसार पोखराबाटमात्रै वार्षिक २० हजारभन्दा धेरैको संख्यामा कृत्रिम गर्भाधान सेवा दिइँदै आइएको छ । ‘कृत्रिम गर्भाधान गराउनेभरिमा पोखरा टप १० भित्रै पर्छ । त्यसो हुँदा यहाँबाटमात्रै वार्षिक ६ लाख १३ हजार डोज विर्य वितरण हुन्छ,’ उनले भने । उनले नेपालभर वार्षिक साढे ९ लाखको हाराहारीमा विर्य डोज वितरण हुँदै आएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा