Lite Nepal

सोमबार, पौष २३, २०८०

काठमाडौं – सरकार र राजनीतिक दलहरू सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सौदाबाजी गरिरहेका छन् । तर जसको लागि यो विधेयक ल्याउन खोजिएको हो उनीहरू सरकार प्रति विश्वास नभएर हो वा आफ्नो बेपत्ता व्यक्ति फर्केर आउँदैन भनेर हो कुशको लास बनाएर दाहसंस्कार गरिरहेका छन् । यस्तै टिठ लाग्दो अवस्था पशुपति आर्यघाटमा देखिएको छ ।

चन्द्रकला उप्रेतीले राज्यसँग २० वर्ष देखि आफ्नो श्रीमानको अवस्था सोधखोज गर्दा जवाफ नपाएपछि पिठो र कुशको शव बनाएर दाहसंस्कार गरेकी छन् । नेपाली सेनाले बिस वर्षअघि अपहरण गरेर बेपत्ता पारेको तीनै भूपेन्द्र उप्रेतीको पशुपति आर्यघाटमा गरिएको अन्त्येष्टिको दृश्य हो यो ।

२०६० मंसिर २३ गते सेनाले नियन्त्रणमा लिएर लगेका श्रीमान् जीवितै फर्किन्छन् कि भनेर नेपालगन्ज, धम्बोझी चोककी चन्द्रकला उप्रेतीले एक हैन दुई हैन २० वर्षसम्म बाटो हेरिरहिन् । तर, उनी अन्ततः आफ्ना पति जीवित नरहेको निष्कर्षमा पुगिन् ।

सेनाले लगेका आफ्ना पतिको अवस्था बुझ्न उनी कहाँ पुगिनन् ? सेना, प्रहरी, प्रशासन, अदालत सबैतिर धाइन् । तर अहँ केही थाहा भएन । सरकारी अधिकारीदेखि मन्त्री र प्रधानमन्त्रीलाई पनि उनले आफ्नो गुनासो सुनाइन् । तर कसैले उनको पतिको अवस्था पत्ता लगाइदिएनन् ।

भूपेन्द्रलाई माओवादी भएको आरोपमा राझा ब्यारेकबाट खटिएको सैनिक टोलीले नियन्त्रणमा लिएको थियो । धम्बोझीमा विनायक ट्रेडिङ कन्सर्न संचालन गरेका भूपेन्द्रलाई सेनाले इनामनगर राझा ब्यारेकमा लगेको थियो । त्यसपछि नै भूपेन्द्रको अवस्था अज्ञात छ । पतिलाई सेनाले लगेपछि पत्नी चन्द्रकलाले २०६० मंसिर २८ गते राझा पृतनामा सैनिक अधिकारीलाई भेटिन् ।

त्यसयताको दुई दशक पतिकै सोधखोजमा बिताए पनि उनले कहीँ कतैबाट पतिको अवस्था थाहा पाउन सकिनन् । यो दुई दशकमा बेपत्ता छानबिन आयोग जस्ता निकाय पनि बने । तर पनि चन्द्रकलाले पतिको कुनै अत्तोपत्तो पाइनन् ।

राज्यसँग विश्वास मरेर हो वा अब बुवा जीवित हुनुहुन्न भन्ने विश्वास भएर हो । उनीहरूले लास बिनै दाहसंस्कार त गरे । तर बुवा खोइ भन्ने प्रश्नले उनीहरूलाई पछ्याउन छाडेको छैन ।

अहिले सत्तारुढ र प्रतिपक्षी राजनीतिक दलले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सत्ता र शक्ति लेनदेनको मोहरा बनाइरहेका छन् । राजनीतिक लेनदेनका बीच पनि द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित एक थान कानुन त बन्ला । तर, के त्यो कानुनले यी बेपत्ता नागरिकका परिवारलाई न्यायको अनुभूति गराउला ?

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा