Lite Nepal

आइतबार, फाल्गुण २७, २०८०

ताप्लेजुङ – यस वर्ष फागुन २८ गते सोमबार ग्याल्पो ल्होसार परेको भन्दै सरकारले सार्वजनिक बिदा दिएको छ । तर, शेर्पाहरूको महान् चाड २१५१औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिन नै परेकाले नेपाल सरकारले गलत मितिलाई उल्लेख गर्दै बिदा दिएको र मनाउन लगाएको भन्दै नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङ र मातहतको भातृ संघसंस्थाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरेका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ पुगेर प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले विगत धेरै वर्षदेखि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा बौद्ध मार्गीहरूको महत्त्वपूर्ण चाडपर्वहरूको तिथिहरूलाई नजरअन्दाज गर्दै आएकोमा आपत्ती जनाए ।

उनीहरूले यस वर्ष पनि शेर्पाहरूको महान् चाड २१५१ औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिनमा नै परेको भएता पनि नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र हिमाली बौद्ध मार्गीहरूको चाड पर्वको तिथि नै भ्रममा पारिएको बताए । यस विषयमा गम्भीर आपत्ति जनाउँदै उनीहरूले आगामी दिनहरूमा यस्तो गल्ती नगर्न जिल्ला प्रमुख आधिकारी मार्फत नेपाल सकारलाई ध्यानाकर्षण गराएको बताएका छन् ।

‘विश्वको विभिन्न देशको भ्रमण गर्ने क्रममा हाम्रो देशका सरकार प्रमुख, प्रधानमन्त्री, मन्त्री लगायत देशको उच्च तहमा जिम्मेवारी वहन गरी राज्य सञ्चालन गर्ने सरकारले आफ्नो परिचयको क्रममा बुद्ध जन्मेको देश भनेर परिचय दिने तर साँच्चिकै बुद्ध जन्मभूमिमा बसोबास गर्ने बौद्ध मार्गीहरूको महत्त्वपूर्ण तिथि मिति, चाडपर्वहरूमा भने पुरे बेवास्ता गरी बौद्ध मार्गी तथा सोजा सिधा शेर्पा समुदायहरूमाथि सरकारले विभेद गरिएको प्रस्ट देखिएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

उनीहरूले महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाडपर्वहरू भोट चन्द्र पात्रो (दाथो) मा आधार गरी मान्ने, मनाउने भएकोले आगामी दिनमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मिति अनुसार सार्वजनिक बिदा दिने व्यवस्था गर्न पनि माग गरेका छन् । साथै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता सङ्गठन नेपाल बौद्ध महासङ्घलाई प्रतिनिधि मूलक सहभागी गराई समन्वय गराउन अनुरोध गरेका छन् । शेर्पा संघ जिल्ला कार्यसमिति ताप्लेजुङका अध्यक्ष पासाङ रिता शेर्पाले लाईट नेपाललाई भने, ‘यदि आगामी दिनहरूमा नेपाल पञ्चाङ्ग निर्माण विकास समितिमा बौद्ध मार्गीहरूको सहभागिता विना पात्रो तयार गरी प्रकाशन गरिएमा विभिन्न आन्दोलनको कार्यक्रम तय गरी अघि बढ्ने हामीले ध्यानाकर्षण पत्र मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएका छौं ।’

ध्यानाकर्षण पत्रमा पासाङ रितासहित शेर्पा सञ्चार समूह जिल्ला कार्यसमिति ताप्लेजुङका सचिव तेन्जीङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्र ताप्लेजुङका अध्यक्ष मिडमा खाङ्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति ताप्लेजुङकी अध्यक्ष मिङ्मा दिकी शेर्पाले हस्ताक्षर गरेका छन् ।

उनीहरूले उक्त ध्यानाकर्षण पत्र नेपाल सरकार गृह मन्त्रालय, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिती साथै ताप्लेजुङको नगरपालिका र गाउँपालिकालाई पनि बोदार्थ दिएका छन् ।

यस्तो छ ध्यानाकर्षण पत्र ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा