Lite Nepal

सोमबार, आषाढ ०३, २०८१

रौतहट– रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । मानव स्वास्थ्यका लागि हानिकारक रासायनिक पदार्थ (कार्वाइड) हालेर पकाइएको आँप यहाँको प्रत्येक बजारमा खुलेआम बिक्री वितरण भइरहेको हो ।

सरोकारवाला निकायले बेवास्ता गर्दा जिल्लाको गौर,गरुडा,चन्द्रनिगाहपुर,कटहरिया,शिवनगर लगायतका प्रत्येक बजारमा समय अगावै औषधि हालेर पकाइएको आँप व्यापारीले महँगो मूल्यमा बिक्री गरिरहेका छन् ।

यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खरिद नगर्न तथा खानसमेत नहुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

चन्द्रनिगाहपुर चोकको विभिन्न घुम्ती पसलमा बिक्रीका लागि विषादी प्रयोग गरिएका आँप राखिएका छन् । आँपमा विषादी हालेर पकाइने गरेकोले सावधानी अपनाउन पनि स्वास्थ्यकर्मीहरूको सुझाव छ ।

सिम्स हस्पिटलका प्रमुख डा. रामकिशोर साहले हानिकारक रसायन हालेर पकाएको आँप खादा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताए ।

विभिन्न किसिमका विषादी प्रयोग गरी पकाएको आँप लगायत अन्य फलफूल सेवन गर्दा स्वास्थ्य बिग्रने उनको भनाई छ । जिल्लाको चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा कार्बाइड अत्यधिक प्रयोग गरिएको आँप निर्बाध बिक्री वितरण गरिएको भएपनि त्यसको रोकथामतर्फ हालसम्म स्थानीय तह तथा प्रशासनले कुनै पहल नगरेको उपभोक्ता हित संरक्षण मञ्च रौतहटका अध्यक्ष टीका घिमिरेले बताए । उनले मानव स्वास्थ्यमा खेलबाड हुने गरी विषादी प्रयोग गरिएको आँप बिक्री वितरण तुरुन्त रोक्न पनि माग गरेका छन् ।

चिकित्सकहरूले विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने भन्दै सचेत गराउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं