Lite Nepal

बिहिबार, आषाढ २०, २०८१

बैतडी– अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुर्‍याएको हो ।

कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिए।

उनले भने, ‘कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछी समस्या भएको छ । कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ ।’

विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए।

उनले भने, ‘किसानले फौजी कीराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ ।’

समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ ।

पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए। रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी कीराको जोखिम देखिएको जानकारी गराएका छन् ।

गएको चार वर्षयता हरेक वर्ष फौजी कीराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। उनले भने, “मकैमा फौजी कीराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ । नियन्त्रणका लागि मुस्किल हुने गरेको छ ।”

पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ । इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै कीराको जोखिम नियन्त्रण हुने जनाइएको छ । माटोको उपचार गरेर पनि फौजी कीराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ । फौजी कीराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।

बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोगकीरा, बसाइँसराइका कारण हाल पाँच हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं