Lite Nepal

सोमबार, माघ २८, २०८१

काठमाडौं । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएका ‘नो केबलकार समूह’ले वार्ता गर्न सहसचिवभन्दा माथिल्लो स्तरको समिति माग गरेपछि गृहमन्त्री रमेश लेखकले उनीहरूलाई सहसचिवको हैसियत सम्झाएका छन् ।

सोमबार साँझ गृहमन्त्रालय पुगेका उनीहरूले गृहमन्त्री लेखकले नै वार्ता समितिको नेतृत्व गर्दा सही सन्देश जाने बताएका थिए । त्यसपछि गृहमन्त्रीले भने, ‘संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्ने सहसचिवले संसारभरिका १९० देशका प्रमुखहरूसँग समेत वार्ता गर्नसक्ने, देशभित्रै वार्ता गर्न किन नसक्ने ?’

आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जेन लामा शेर्पा, जनजाति नेता आङकाजी शेर्पा लगायतले गृहमन्त्रीसँग भेटेर अझै उच्च स्तरको वार्ता समिति खोजेका थिए । जवाफमा गृहमन्त्री लेखकले अहिले सहसचिव स्तरमा गठित समिति नै अधिकारसम्पन्न समिति भएकाले त्यसैसँग वार्ता गर्नु समाधानमुखी हुने बताएका हुन् ।

अहिले गृहका सहसचिव प्रेम भट्टराई नेतृत्वको समिति वार्तारत रहेका बेला मन्त्रीले सोही टिमले वार्ता जारी राख्ने बताएका छन् । ‘१२ माघमा जे भयो, त्यो दुःखद घटना हो, अब त्यस्तो नहोस् भनेर हामी सचेत छौं, तपाईंहरू पनि सचेत हुनुहोस्,’ लेखकले मुक्कुमलुङ पक्षलाई भने, ‘आन्दोलन फिर्ता लिएर सार्थक संवादमा बस्दा नै सकारात्मक परिणाम आउँछ ।’

ताप्लेजुङका सांसद योगेश भट्टराई तथा उर्मिला थेबेले प्रतिनिधिहरूलाई गृहमन्त्रीसँग संवादका लागि सहजीकरण गराइदिएका थिए ।

गृह प्रवक्ता रामचन्द्र तिवारीका अनुसार छलफल सकारात्मक मोडमा टुंगिएको छ । मन्त्री लेखकले फेरि संवाद जारी राख्न आग्रह गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं