काठमाडाैं । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विवादलाई लिएर सुनसरीको धरानमा कालोमोसो दल्ने ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान उपमहानगरपालिका–९ पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए । उनलाई मोसो दल्नेविरुद्ध अदालतबाट सोमबार पक्राउ पुर्जी जारी भएको हो ।
पक्राउ पुर्जी जारी गरिएकाहरु पक्राउ परेका छैनन् । यद्यपि, खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाउने प्रहरीको तयारी छ । माबोले आफूलाई मोसो दल्ने ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । त्यसका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको हो । पक्राउ पुर्जी जारी भएकाको नाम सार्वजनिक गरिएको छैन ।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबलकारको विरोध गर्नेहरूलाई गालीगलौज गरेको भन्दै कालोमोसो दलेर माफी माग्न लगाइएको थियो । प्रहरी स्रोतका अनुसार मोसो दल्ने जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावतीलगायत ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले कानुनविपरीत काम गर्ने जो कोहीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइने जानकारी दिए । पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा संलग्न भएका माबोले पाथीभरा मन्दिरमा केबलकार निर्माण हुँदा जिल्लाको विकास हुने बताउँदै आएका छन्।
८ जनालाई भोलि सम्म हाजिर गराउँछौ : चुम्लुङ अध्यक्ष
कालोमोसो दल्ने ८ जनालाई किरात याक्थुङ चुम्लुङ सुनसरीले भोलि कार्यालय समय भित्र हाजिर गराउने अध्यक्ष मोहन हुक्पाचोङले बताएका छन् । आपराधिक उपद्रवसम्बन्धी कसुरमा मुद्दा दर्ता भएका धरान-१५ का दिवस राई, धरान-१५ का अमर ईजम, जेन्टल लावती, शिवहाङ राई, सुमन चेम्जोङ, सृजना बेघा, विष्णु थाम्देन लगायतका ‘नो केबलकार पक्षधर’ आन्दोलनकारीलाई चुम्लुङले हाजिर गराउने भएको हो ।
ताप्लेजुङका पदम चेन्जी माबोले आफूलाई धरानमा कालोमोसो दल्नेहरू ८ जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी किटानी थिए ।सोमबार चुम्लुङको अगुवाइमा इलाका प्रहरी कार्यालयका डिएसपी प्रकाश जबेगु सँग छलफल बसेको थियो । छलफलमा डिएसपी जबेगुले ‘पक्राउ पुर्जी भएका ८ अभियुक्तहरूलाई हाजिर गराउनुस् नत्र हामी जसरी नि पक्राउ गर्छौ’ भने पश्चात् फरार रहेका ८ जना लाई चुम्लुङ हाजिर गराउने भएको हो ।
उता इलाका प्रहरी कार्यालय धरानले फरार अभियुक्तहरूको तीव्र खोजी गरिरहेको बताएको छ।