विराटनगर । भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको विरोधमा विराटनगरमा आन्दोलनको घोषणा भएकाे छ ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ४ विद्यार्थी संगठनले विराटनगरमा आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनअन्तर्गत विरोध प्रदर्शनलगायत विरोधका कार्यक्रम रहेका छन् ।
विद्यार्थी संगठनहरुको सोमबार राति भएको अनौपचारिक भर्चुअल बैठकले आन्दोलनमा उत्रने निर्णय लिएको हो ।
आन्दोलनअन्तर्गत आज (मंगलबार) बिहान महेन्द्र मोरङ क्याम्पसबाट संयुक्त प्रदर्शन गर्ने, भोलि (बुधबार) जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने, भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा प्रवेश निषेध गर्नेलगायतका कार्यक्रम छन् । यसैबिच नेपाली विद्यार्थी माथि भएको ज्यादती विरुद्धमा साेमबार लैनचौर स्थित भारतीय दूतावास अगाडि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको बिरोध प्रदर्शन गरेका छन् ।
तस्बिरहरु – नेपाल फोटो लाईब्रेरी