Lite Nepal

मंगलबार, चैत्र ०४, २०८१

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् ।

यस वर्ष पाथीभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन् ।

केबलकारको विरोधमा केही दिन भएको बन्द तथा यसबाट उत्पन्न परिस्थितिका कारण भक्तजनको सङ्ख्यामा कमी आएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनले हाल पाथीभरा जान आउन कुनै समस्या नभए पनि कतिपय भक्तजनमा अन्योलता कायमै रहेकाले निर्धक्क भएर आउन आग्रह गरे ।

पाथीभरालाई साक्षात् देवीको रूपमा लिइने भएकाले यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । यही आस्थाका कारण स्वदेशी मात्र नभई भारतलगायत विभिन्न देशका भक्तजनसमेत यहाँ आउने गर्छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार वार्षिक करिब तीन लाख भक्तजन यहाँ पुग्ने गरेका छन् ।

पाथीभरा जाने सुकेटार काफ्लेपाटी सडकखण्ड स्तरोन्नति, तमोर करिडोर निर्माण हुनुका साथै पछिल्लो समय प्रचारप्रसारसमेत बढेकाले विगतका वर्षको तुलनामा भक्तजनको सङ्ख्या भने बढ्दै गएको समितिले जनाएको छ । हिजोआज इटहरी, धरान हुँदै तमोर करिडोर र झापाको विर्तामोड, ईलाम हुँदै पाथिभरा जान सकिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा