Lite Nepal

शनिबार, चैत्र २३, २०८१

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए ।

‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुङ्ग्याउने भन्नेमा यस पटक हामीले एउटा गहिरो समझदारी गरेका छौँ’, सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचार विमर्श भएको जानकारी दिए । उनले भने, ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधरा चाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।’

प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी दिँदै सो कार्यक्रममा भारतबाट उच्चस्तरका सहभागिता हुने बताए । ‘मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसै बेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यस कारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।’

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले आन्दोलनरत शिक्षकले उठाएका विषयलाई सरकारले सकारात्मक रूपमा ग्रहण गरी सम्बोधन गर्ने बताए । उनले भने, ‘सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ, त्यस कारण आउनुभएको हो, हामी कुराकानी पनि गर्छौँ, सरकारले उहाँहरूको कुरा पनि सुन्छ ।’

शिक्षकले राखेका मागका सम्बन्धमा के–कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर छलफल गरेर टुङ्गिने विश्वास दिलाए । ‘धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ, सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन, किन राख्नु परेको छ र ?’, उनले भने, ‘शिक्षकका समस्या टुङ्गिन्छ ।’ सरकारले यही चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरिरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं