Lite Nepal

बिहिबार, जेठ ०२, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण गर्ने बाटो सर्वोच्च अदालतले खोलिदिएसँगै जिल्लावासी खुसी भएका छन् ।

जिल्लाको विकास र समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने केबलकार परियोजनाको सुरु भएको काम यसअघि सर्वोच्चको अल्पकालीन आदेशका कारण रोकिएको थियो ।

निर्माण कार्य रोक्न माग गर्दै गत चैतमा यामबहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितिमा राख्न आदेश दिएको थियो ।

सोही मुद्दामा बुधवार सुनुवाइ गर्दै न्यायाधीश द्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो ।

उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई, लबन न्यौपाने, पदम बहादुर श्रेष्ठ र विनोदमणि भट्टराईले बहस गरेका थिए । यसै गरी विपक्षी पाथीभरा देवी दर्शन केबलकार प्रा.लि.को तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सतिशकृष्ण खरेल लगायतले बहस गरेका थिए ।

अदालतको आदेश सँगै बुधवारबाट ताप्लेजुङका विकास प्रेमी नागरिकहरूले सामाजिक सञ्जालमा आदेशको स्वागत गर्दै पोस्ट गरेका छन् । अब रोकिएको काम निरन्तर अघि बढ्ने निर्माण कम्पनीले जनाएको छ ।

१० मिनेटमा पुगिनेछ पाथीभरा
पाथीभरामा केबलकार निर्माण सम्पन्न भएपछि १ दिन सम्म उकालो पैदल यात्रा गर्नुपर्ने दूरी १० मिनेटमा छोटिने छ । हाल तल्लो फेदी अर्थात् काफ्लेपाटीबाट उकालो पैदल यात्रा गर्दै माथिल्लो फेदी हुँदै पाथीभरा मन्दिरसम्म यात्रा गर्नुपर्ने बाध्यता छ । केबलकार निर्माण सम्पन्न भएपछि यो यात्रा १० मिनेट ३१ सेकेन्डमा केबलकार चढेर पार गर्न सकिने पाथीभरा केबलकार कम्पनी सञ्चालक समिति सदस्य रुद्र पौडेलले बताए ।

८ जना यात्रु बोक्न मिल्ने मोनो केबलकारले प्रतिघण्टा एक हजार जना तीर्थयात्रीलाई पाथीभरामा पुर्याउने छ । ‘६ मिटर प्रति सेकेन्डमा चल्न सक्ने केबलकार निर्माण भइरहेको छ,’ समिति सदस्य पौडेलले भने, ‘निर्माण सम्पन्न भएपछि दैनिक हजारौं तीर्थयात्रीलाई केबलकारले सुविधा दिनेछ ।’

अनुमानित ३०० करोड लगानी रहेको पाथीभरा केबलकार परियोजना अबको १२ देखि १५ महिना सम्ममा निर्माण सम्पन्न गर्ने गरी द्रुत गतिमा काम भइरहेको पौडेलले जानकारी दिए ।

फुङलिङ नगरपालिका – ११ मा रहेको काफ्लेपाटीबाट पाथीभरा मन्दिर परिसर भन्दा ७०० मिटर पश्चिम सम्म केबलकार बन्नेछ । यसको दुरी २.७५ किलोमिटर रहने छ । केबलकारबाट ओर्लिएर तीर्थयात्रीले ७०० मिटर पैदल यात्रा गर्नुपर्ने हुन्छ ।

केबलकारको टप स्टेसनमा तातोपानी, चिया र अक्सिजनको मात्र व्यवस्था मिलाइने पाथीभरा केबलकार कम्पनी सञ्चालक समिति सदस्य पौडेलले जानकारी दिए । ‘यहाँ अन्य स्थानको जस्तो होटेल तथा रिसोर्ट कुनै पनि संरचना बनाइने छैन,’ उनले भने, ‘यहाँ बनाइने संरचना पनि प्रकृतिमैत्री र स्थानीय पहिचान झल्कने काठ र माटोका बनाइने छन् ।’

१३ वटा खम्बा (टावर)मा ३८ वटा गोन्डोलाज (केबलकारको बसेर यात्रा गर्ने बक्स) झुन्ड्याएर सञ्चालन गरिने केबलकारका सबै सामान विश्वको नम्बर १ केबलकार कम्पनीबाट आयात गरिने भएकाले यसमा यात्रा गर्न सुरक्षित रहेन पौडेलको भनाई छ । ३८ वटा गोन्डोलाजमा २ वटा भने भारी बोक्ने रहने छन् ।

ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क
निर्माण सम्पन्न भएर सञ्चालन भएपछि ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र ३ फीट मुनिका बालबालिकाले निःशुल्क चढ्न पाउने छन् । पाथीभरामा केबलकारले ज्येष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने पाथीभरा देवी दर्शन केबलकार सञ्चालक समिति सदस्य पौडेल बताउँछन् । ‘उकालोमा हिड्न गाह्रो हुने भनेकै ७५ वर्ष माथिका ज्येष्ठ नागरिक र बालबालिकालाई हो,’ उनले भने, ‘उहाँहरूलाई केबलकारले निःशुल्क सेवा दिनेछ ।’

पौडेलका अनुसार केबलकार निर्माणदेखि सञ्चालन गर्दा चाहिने जनशक्ति परिचालनमा पनि स्थानीयलाई प्राथमिकता दिइने छ । यसले स्थानीयलाई रोजगार बनाउने देखिएको छ । स्थानीय प्रभावित क्षेत्रका बासिन्दा, विद्यार्थी र फरक क्षमता भएकालाई पनि टिकटमा विशेष सुविधा दिने तयारीमा केबलकार कम्पनी रहेको छ ।

केबलकार सञ्चालन भएपछि प्रभावित स्थानीय तहहरू फुङलिङ नगरपालिका, सिरीजङ्गा गाउँपालिका र फक्ताङलुङ गाउँपालिकाले पनि रोयल्टी पाउने छन् ।

सञ्चालक पौडेलका अनुसार पाथीभरा केबलकारको सामाजिक उत्तरदायित्वको रकम पनि प्रभावित क्षेत्रमा खर्च गरिनेछ । ‘पाथीभरामा निर्माण भइरहेको केबलकारले समग्रमा जिल्ला र जिल्ला वासीलाई नै फाइदा पुग्नेछ,’ सञ्चालक पौडेलले भने, ‘यसले जिल्लाको समृद्धिमा टेवा पुर्याउनेछ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा