ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्षमा नै १०० घरधुरीको खरको छानो विस्थापन गर्ने भएको छ ।
सोमबार बसेको ४६औं कार्यपालिका बैठकले असार पहिलो साता सम्ममा नै १०० घरधुरीलाई खरको छाना विस्थापन गर्दै जस्तापाता लगाउन रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।
निर्णय सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष दिपेन पोमुले चालु आर्थिक वर्षमा नै १०० घर धुरीको खरको छाना हटाउने र आगामी आर्थिक वर्षमा पनि यो कामलाई निरन्तरता दिने जानकारी दिए ।
उनका अनुसार यस आर्थिक वर्षमा वडा नम्बर १, २ र ३ का २०/२० घरका साथै ४ का २४ र ५ का सबै १६ घरको खरको छाना विस्थापन गर्न रकम भुक्तानी गरिने छ ।
यस आर्थिक वर्षमा ५ नम्बर वडाका सबै १६ घर समेटिने भएको छ भने बाँकी वडाका केही खरका छाना भएका घरधुरी मात्रै बाँकी रहने छन् ।
गाउँपालिकाले गरेको सर्वेक्षण अनुसार खरको छाना विस्थापन गर्नुपर्ने घरहरू १ नम्बर वडामा ५६, २ मा ८८, ३ मा ६२, ४ मा ४९ र ५ मा १६ वटा छन् । यति मध्ये यस आर्थिक वर्षमा ५ नम्बर वडाको सबै समेटिएको छ भने बाँकी वडाको केही बाँकी रहनेछन् ।
बाँकी रहेका घरलाई पनि आगामी आर्थिक वर्षमा समेटिने र गाउँपालिकालाई खरको छाना रहित घोषणा गर्ने गाउँपालिका अध्यक्ष पोमु बताउँछन् । खरको छाना हटाए आगलागीको जोखिम कम हुने उनको भनाई छ ।
साथै गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा वडा–वडाबाट समेटिने योजना जेठ २० गते सम्ममा छनोट गर्ने पनि निर्णय गरेको छ । २० गतेपछि पुनः कार्यपालिकाको अर्को बैठक बसेर सिलिङ तोक्ने र २०८२/०८३ को बजेट नीति तथा कार्यक्रम असारको पहिलो साता ल्याउने अध्यक्ष पोमुले जानकारी दिए ।