Lite Nepal

बुधबार, जेठ ०८, २०८२

झापा । कुनै बेला झापाको बिर्तामोडमा सरकारी स्वास्थ्य संस्था भन्ने वित्तिकै नाक खुम्च्याउने गरिन्थ्यो । सरकारी स्वास्थ्य संस्थाप्रति नगरवासीको विश्वास न्यून थियो । अधिकांश आर्थिक अवस्था कमजोर भएकाहरू मात्र सेवा लिन जान्थे । तर, अहिले अवस्था फेरिएको छ । सुविधा सम्पन्न नगर अस्पतालबाट गुणस्तरीय सेवा प्रदान हुन थालेपछि नगरवासीको आकर्षण बढ्न थालेको छ ।

नगर अस्पतालको सेवामा विविधतासँगै सुविधा सम्पन्न भवनबाट सेवा प्रदान हुन थालेपछि अहिले दैनिक चार सयदेखि पाँच सय जनाले सेवा लिन थालेका छन् । स्वास्थ्य क्षेत्रलाई नगरले विशेष प्राथमिकता दिइएको बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले बताए ।

“चौबिसै घण्टा सेवा सञ्चालनको तयारीमा छौँ”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणको काम समयमै सम्पन्न नहुँदा समस्या भइरहेको छ ।” निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेकाले समस्या भइरहेको नगरप्रमुख प्रसाईंले बताए । अहिले नगर अस्पताल १५ शैय्याको छ । यसलाई २५ शैय्याको बनाउने लक्ष्य रहेको छ । “नगर अस्पताललाई विशेष प्राथमिकतामा राखेका छौँ”, उनले भने ।

नगर अस्पतालबाट प्रभावकारी रूपमा सेवा प्रवाह हुन थालेपछि विभिन्न जिल्लाबाट नगर अस्पताल सञ्चालनको अवस्था बुझ्न र अनुभव साटासाट गर्न जनप्रतिनिधि आउने गरेका नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताए । अस्पतालले चाँडै डायलाइसिस सेवा सञ्चालन गर्न लागेको छ । “६ वटा डायलाइसिस मेसिन दाताबाट प्राप्त भएको छ”, उनले भने ।

नगरपालिकामा एक नगर अस्पताल र आठ वडामा आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ । रु तीन करोड ९६ लाखको लागतमा आठवटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण भइसकेका छन् । रु १५ करोड ३४ हजारको लागतमा नगर अस्पतालको भवन निर्माणको भइरहेको नगरप्रमुख प्रसाईंले बताए । भवन निर्माण भएपछि १५ शैय्याबाट २५ शैय्यामा स्तरोन्नति गरिने छ ।

आधारभूत स्वास्थ्य केन्द्रबाट एक सय २७ प्रकारका औषधि निःशुल्क वितरण हुँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले बताए । नगरपालिका मातहतका स्वास्थ्य संस्थामार्फत हालसम्ममा ८९ हजार सात सय ६४ जनाले स्वास्थ्य सेवा लिएको नगरपालिकाले जनाएको छ ।

बिर्तामोड नगर क्षेत्रमा घरमा प्रसूति गराउनेको दर ‘शून्य’मा झरेको प्रमुख विष्ट बताउनुहुन्छ । नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालित छ । अस्पतालमा चिकित्सकसहित ६० जनाको जनशक्ति रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा