Lite Nepal

शनिबार, मंसिर ०६, २०८२

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ माघ १० गते हुने भएको छ । यस अघिका वर्षहरूमा फागुनमा हुँदै आएको वनभोज कार्यक्रम प्रतिनिधिसभा निर्वाचनका कारण एक महिना अघि नै गर्न लागिएको आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले जनाएको छ ।

शनिबार बिहान बागबजारमा रहेको सरोकार केन्द्रको कार्यालयमा बसेको बैठकले निर्वाचनलाई मध्यनजर राख्दै माघमा नै वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए ।

‘सबैको मत निर्वाचन अघि नै वनभोज गरौं भन्नेमा रह्यो,’ अध्यक्ष तामाङले भने, ‘यदि माघमा गरिएन भने चैतमा गर्नुपर्ने हुन्छ र त्यो समय अलिक उपयुक्त नहुने भएकाले वनभोजलाई अगाडी सारिएको हो ।’

बैठकले यस वर्षको वनभोज कार्यक्रमको संयोजक केन्द्रका कोषाध्यक्ष लोजक लामा रहने निर्णय पनि गरेको छ ।

ताप्लेजुङ जिल्लाबाट काठमाडौं आएर बसोबास गर्ने ताप्लेजुङवासीको साझा संस्था ताप्लेजुङ सरोकार केन्द्रले हरेक वर्ष वनभोजको आयोजना गर्दै आएको छ । चार हजार बढीको सहभागितामा हुँदै आएको ‘ताप्लेजुङ वनभोज’लाई केन्द्रले नेपालकै ठुलो वनभोजका रूपमा दाबी गर्दै आएको छ ।

अघिल्लो वर्ष जहरसिं पौवामा वनभोजको आयोजना भएको थियो भने त्यस अघिका दुई वर्ष भक्तपुरको गुण्डु चौरमा कार्यक्रमको आयोजना गरिएको थियो । यस वर्षको स्थान भने वनभोज कार्यक्रमको संयोजकको संयोजकत्वमा बस्ने बैठकले तय गर्ने बताइएको छ ।
जिल्लावासीबिचमा भेटघाट, जिल्लाको संस्कृति र पर्यटनको प्रचारका लागि महत्त्वपूर्ण रहेको ताप्लेजुङ वनभोजले ताप्लेजुङेको आत्मीयतालाई अझै प्रगाड बनाउँदै लगेको केन्द्रका अध्यक्ष तामाङको भनाई छ ।

वनभोजमा वृहद् सांस्कृतिक कार्यक्रमका साथै विभिन्न जातजातिको संस्कृति झल्काउने झाँकी प्रदर्शन हुन्छन् भने विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहने गरेको छ ।

यसैबिच शनिबार बसेको बैठकले भित्ते पात्रो २०८३ प्रकाशन गर्ने र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका – ४ मा भएको आगलागी पीडितलाई सहयोग संकलनका लागि छुट्टा–छुट्टै समिति पनि बनाएको छ ।

बैठकमा काठमाडौं–तिप्तला भञ्याङ पर्यटन भ्रमण तयारीका सम्बन्धमा संयोजक मिङ्मा डण्डु लामाबाट कार्य योजना प्रस्तुत गर्नुको साथै, देउसी भैलो कार्यक्रम २०८२ को प्रतिवेदनका बारेमा पनि छलफल भएको केन्द्रका महासचिव अशोकप्यासी राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं