नेपाली कांग्रेस विगत चार महिनादेखि एउटै विषयमा अल्झिएको छ, महाधिवेशन। विशेष गर्ने कि नियमित? निर्वाचन अघि कि पछि ? यस्तै चेपुवामा पर्दा यतिखेर “कतै कांग्रेस फेरि विभाजनमा पो पुग्छ कि!” भन्ने चर्चा नै चुलिएको छ।
हर्क साम्पाङले हिजोआज भन्दै थिए, “आफूसँग भएको कुनै पनि शक्ति वा सम्पत्ति अरूलाई दिन सहजै मान्दैन मान्छे।” यति लामो विरासत र इतिहास बोकेको कांग्रेसको मुखियासँग भएको शक्ति र सामर्थ्य सजिलै अर्कोलाई हस्तान्तरण गर्ने कुरा पक्कै सहज त हुँदैन। तर हस्तान्तरण नगर्दा वा सामयिक निर्णय गर्न नसक्दा त्यसको मूल्य देशले चुकाउनुपर्छ।
फागुन २१ को चुनावका लागि फेरि केपी ओली कांग्रेसको साथ खोजिरहेका छन् भन्ने समाचार आइरहेको छ। अझ प्रचण्ड पनि मिसिएर चुनावमा जाने सम्भावनाका कुरा नै छन्।
यी तीन जना नेताहरू केवल नेता होइनन्, यी त प्रवृत्ति बनिसके। यिनीहरूको छत्रछायामा हुर्किने नयाँ भनिने यिनका अनुज पनि यिनीहरू जस्तै छन्। यिनीहरूलाई चुनाव जित्न पाए भयो। राष्ट्रवाद, क्षेत्रीयतावाद जस्ता भावुक विषय सायद यो पटक अझ बढी उठाल्नेछन्।
तर गठबन्धनको पुष्टि गर्न सक्ने छैनन्। एमाले, कांग्रेस र माओवादी (तत्कालीन) हरूले मूल नेतृत्व बदल्ने हिम्मत नगरिरहँदा समाजमा थप निराशा बढेको पक्कै हो। पार्टीहरू अझै सच्चिँदैनन् भन्ने सन्देशले आउने निर्वाचनमा अब कसलाई भोट गर्ने भन्ने दोधारमा छन् धेरै मतदाता। यस्तोमा रवि लामिछानेलाई काक्ती परेको छ।
यदि माथिका तीन जना नेताले आफ्नो पार्टी जिम्मेवारी हस्तान्तरण गरेको भए, नयाँ भनिने पार्टीहरूलाई उठाउनुपर्ने मुद्दा नै सकिने थियो। अहिलेसम्म हेर्दा उनीहरूमा कुनै वैचारिक र नीति तथा कार्यक्रमको ठोस खाका देखिँदैन। अहिले त ओली, देउवा र प्रचण्डहरूको विरोध गर्ने नीतिका भरमा टिकिरहेका छन्।
यसको आशय, वैकल्पिक वा नयाँ पार्टीहरू भनिएकाहरू अहिले अझ जोखिमपूर्ण देखिन्छन्। यतिखेरको नेपाल जुन भूराजनीतिक अवस्थितिमा उभिएको छ, त्यहाँबाट आफ्नो सार्वभौमिकताको रक्षा गर्दै स्थायित्व तथा समृद्धिको बाटोमा रफ्तारका साथ हिँड्नुपर्छ। तर यो खालको क्षमता र नीति कतै र कोहीसँग पनि देखिन्न। यो हाम्रो दुर्भाग्य हो।
